
चितवन । विश्वव्यापीरुपमा महामारी फैलिएको कोरोना भाइरसको रोकथामका लागि सरकारले लागू गरेको लकडाउनको आज १३औँ दिनमा जिल्ला प्रहरी कार्यालय चितवन र सो मातहतका प्रहरीले विभिन्न स्थानबाट १५ जनालाई नियन्त्रणमा लिई होल्ड कारबाही गरेको छ ।
बिहानदेखि बेलुकी ८ बजेसम्म लकडाउन उल्लङ्घन गर्ने ४७ मोटरसाइकल, ३३ स्कुटर, ६ कार, एक अटो र ५ साइकल गरी ९२ सवारी साधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरुलाई सम्झाइबुझाइ गरी अतिआवश्यक कामबाहेक घर बाहिर ननिस्कने सर्तमा साँझ ८ बजेदेखि क्रमैसँग छाडिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
उनीहरुलाई नियन्त्रणमा लिइएकै स्थानमा दुई घन्टा होल्ड गराइएको प्रहरीले जनाएको छ ।