काठमाडौँ । कोरोना भाइरस, (कोभिड १९) को जोखिम हुन नदिन जारी भएको लकडाउनलाई अधिकांशले सामाजिक सञ्जालमा नै बिताउने गरेका छन् ।

घरबाहिर निस्कन नपाएपछि आफूले सूचनाको भरपर्दाे माध्ययमका रूपमा सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको काठमाडौँका बिनोद फुँयाल बताउँछन् ।

“सरकारले गरेको निर्णयप्रति मेरो पूर्ण रूपमा समर्थन छ, तसर्थ मैले घरभित्रै बसेर नियमको पालना गरिरहेको छु”, उनले भने । कतिपय मानिस घरबाहिर निस्कने गरेकोमा भने उनको आक्रोश छ । उनी भन्छन्, “सरकारले हाम्रै स्वास्थ्यको सुरक्षाको लागि नियम लागू गरेको छ, आखिर के का लागि नियमको उल्लङ्घन गरेको ?” नियमको उल्लङ्घन गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको बुझाइ छ ।

त्यस्तै, प्रह्लाद चापागाईंको दैनिकी पनि सामाजिक सञ्जाल फेसबुक र युट्युब चलाएरै बित्ने गर्छ । उनले दिनहुँ युट्युवमा मनोरञ्जनात्मक सामग्री हेरेर समय बिताइरहेका छन् ।

मजदुरी गरेर जीविका चलाउने उहाँको जीवन भने केही कष्टकर नभएको होइन । “सरकारले राहत सामग्री समयमै उपलब्ध गराइदिए खासै समस्या हुने थिएन्”, उनले भने ।

अधिकांश समय घरबाहिरै बिताउनेहरू लकडाउन आज तेह्र दिन भए पनि अझै थप्नुपर्ने माग राख्छन् । कोरना भाइरस एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने भएकाले केही साता लकडाउन थप्नुपर्ने भूगर्भविद् अमृत ढकाल बताउँछन् ।

भन्छन्, “अहिले सरकारको निर्णयलाई पूर्ण रूपमा पालना गर्नु अहिलेको बुद्धिमानी हो ।” सामाजिक सञ्जालमै समय बिताइरहेका उनी पहिले अधिकांश समय बाहिरै बिताउँथे । आजकल परिवारसँगै समय बिताउन पाउँदा उनी निकै हर्षित छन् । रासस

तपाईको प्रतिक्रिया