चितवन । राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरको परिसरमा स्थापना गरिएको कोभिड–१९ को प्रयोगशाला आइतबारबाट सञ्चालनमा आएको छ । प्रतिनिधि र प्रदेशसभा सदस्य, जिल्लास्थित दलका प्रमुख, प्रमुख जिल्ला अधिकारीलगायतको रोहबरमा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बिरामीको स्वाब (नमूना) प्राविधिकलाई हस्तान्तरण गरेर प्रयोगशालाको शुभारम्भ गरेकी हुन् ।

पहिलो दिन भएकाले एउटा नमूनामात्र प्रयोगशालामा परीक्षण गरिएको छ । सो नमूना प्रदेश परीक्षण कार्यालय हेटौँडाको प्रयोगशालामा समेत पठाइएको छ । प्रयोगशाला शुभारम्भको अवसरमा प्रतिनिधि सभा, कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले स्थानीय, प्रदेश र सङ्घीय सरकारको संयुक्त प्रयासबाट छोटो समयमा प्रयोगशाला सञ्चालनमा आएको बताए । उनले चितवन र आसपासका बिरामीको नमूना परीक्षण गर्न प्रयोगशाला प्रभावकारी हुने बताए ।

भरतपुर महानगरपालिका प्रमुख दाहालले सबैको साथ र सहयोगका कारण ७२ घन्टाभित्र उच्चस्तरको प्रयोगशाला सञ्चालनमा आएको बताइन् । कोरोना अस्थायी अस्पताल निर्माणपछि रोग पहिचानका लागि प्रयोगशाला निर्माण गरिएको उनले बताइन् । यहीँ प्रयोगशाला भएपछि छिटो नतिजा आउने र उपचारमा सहज हुने उनको भनाइ थियो ।

भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला सञ्चालनमा आएसँगै रोग नियन्त्रणमा प्रभावकारी हुने बताए । सो प्रयोगशाला भरतपुर अस्पतालको स्वामित्वमा रहने गरी सञ्चालनमा ल्याइएको हो ।

प्रयोगशाला स्थापनाका लागि गठित उपसमितिका संयोजक डा कृष्णसागर शर्माका अनुसार प्रयोगशालामा २० जना विशेषज्ञ, प्राविधिक तयारी अवस्थामा रहेका छन् । एक ‘सिफ्ट’मा ९० वटा नमूना परीक्षण गर्न सकिने उनले जानकारी दिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुपछिको देशकै उच्चस्तरको प्रयोगशाला स्थापना भएको भन्दै उनले क्षमता विस्तार गरेर एकै दिनमा ९०० सम्म नमूना परीक्षण गर्न सक्नेगरी प्रयोगशाला स्थापना गरिएको बताए ।

प्रयोगशालामा भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज, कलेजअफ मेडिकल साइन्सेस र कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका प्राविधिकले काम गर्ने छन् । प्रयोगशालामा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपकरण ल्याइएको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयमार्फतका निकायबाट उपलब्ध भएका उपकरण र रसायन प्रयोगमा ल्याइएको छ ।

राष्ट्रिय पक्षीरोग अन्वेषण प्रयोगशालामा भएका उपकरणलाई उच्चतम प्रयोग गरी कोभिड–१९ प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । सो अवसरमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका प्राविधिक विमलेश झाले टेकुको दोस्रो प्रयोगशालाको रूपमा उच्चस्तरको प्रयोगशाला तयार भएको बताए ।

कोरोनाको परीक्षण यहाँ नहुँदा सरकारी अस्पताल र निजी मेडिकल कलेजले नमूना टेकु पठाउँदै आएकामा केही दिनअघिबाट हेटौँडा पठाउँदै आएका छन् । छिमेकी जिल्लाबाट समेत बिरामी आउने भएकाले यही प्रयोगशाला स्थापना गर्नुपर्ने माग बढेर गएको थियो ।

प्रतिपक्षी नेपाली काँग्रेस चितवनले विज्ञप्ति नै जारी गरेर सरोकारपक्षलाई दबाब दिएको थियो । यो प्रयोगशालापछि भरतपुर अस्पताल परिसरमा स्थानान्तरण गरिने छ ।

तपाईको प्रतिक्रिया