चितवन । कोरोना भाइरस (कोभिड–१९) महामारीका रुपमा विश्वभर फैलिएको कारण नेपालमात्र नभई विश्वनै आक्रान्त बनेको वर्तमान अवस्थामा उद्योग वाणिज्य संघ–चितवनले कोरोना राहत कोषको स्थापना गरेको छ ।

यसको रोकथाम तथा नियन्त्रण गर्नका लागि नेपाल सरकारबाट लागू गरिएको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुरलगायत विपन्न परिवारको दैनिकी कष्टकर बन्दै गइरहेकोले यसबाट प्रत्यक्ष प्रभावितहरुलाई राहत वितरण गर्नका लागि उद्योग वाणिज्य संघ–चितवन कोरोना राहत कोष स्थापना गरिएको संघका अध्यक्ष राजु श्रेष्ठले बताए ।

हाललाई संघले ३ लाखको राहत कोष स्थापना गरेको र यसलाई वृद्धि गर्नका लागि संघले संघमा आवद्ध सदस्य, वस्तुगत संघ, व्यावसायिक प्रतिष्ठानलाई समेत अपिल गर्ने निर्णय गरेको संघका कार्यसमिति सदस्य एवम् स्वास्थ्य समितिका संयोजक सिरिष पन्तले जानकारी दिए ।

संघको राहत कोषका लागि उद्योग वाणिज्य संघ–चितवनको तर्फबाट रु १ लाख ३० हजार र कार्यसमितिको तर्फबाट १ लाख ७० हजार गरी हाललाई ३ लाखको कोरोना राहत कोषको स्थापना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

संघको सामाजिक उत्तरदायित्वअन्तर्गत रही उद्योग वाणिज्य संघ–चितवनले विपद्को यस घडीमा सहयोगस्वरुप कोषको स्थापना गरिएकोले एकद्वार प्रणालीमार्फत नै कोषको रकम सदुपयोग गरिने संघका कार्यसमिति सदस्य एवम् प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन समितिका संयोजक नारायण प्रधानले बताए ।

संघले यसअगावै कोरोना भाइरस रोकथाम, नियन्त्रण एवम् सहयोगका लागि दैनिक ज्यालादारी गर्ने एवम् विपन्न वर्गलाई खाद्यान्न वितरण, बजारका मुख्य केन्द्रहरुमा साबुन पानीले हात धुने व्यवस्था एवम् कोरोना अस्पताललाई एन ९५ मास्क वितरण, कोरोना अस्पताल स्थापनाका लागि समेत सहयोग गरिएको संघका वरिष्ठ अधिकृत निलबहादुर केसीले जानकारी दिए ।

संघले बजारमा खाद्यान्नको आपूर्ति व्यवस्थापन गर्नका लागि समेत अनुगमन र पहल गर्दै आइरहेको छ । संघको मिति २०७६ चैत २४ गते वसेको संघका पदाधिकारी, कार्यसमिति सदस्य एवम् सम्बन्धित कार्यगत समितिका संयोजकहरुको उपस्थितिमा उक्त राहत कोषको स्थापना गरिएको संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया