
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट सोमबार एक व्यक्तिको मृत्यु भएको छ । निकुञ्जअन्तर्गत सीतामाई घाटमा गैँडाको आक्रमणबाट भरतपुर महानगर–२२ स्थित बोटे बस्तीका ३९ वर्षीय पूर्णबहादुर कुमालको मृत्यु भएको निकुञ्जले जनाएको छ ।
भरतपुर–१३ मा रहेको बेलसर मध्यवर्ती सामुदायिक वन छिचोलेर निकुञ्जमा निउरो टिप्न पुगेका कुमाललाई सोमबार दिउँसो १ः३० बजे गैँडाले आक्रमण गरेको थियो । गैँडाको आक्रमणबाट कुमालको घटनास्थलमै निधन भएको बताइएको छ ।
बोटे बस्तीबाट १२ जनाको समूह निउरो टिप्न निकुञ्ज गएकोमा कुमाललाई गैँडाले आक्रमण गरेको थियो । अन्यले भने गैँडालाई छलेर ज्यान जोगाएका हुन् । हाल मृतक कुमालको शव पोस्ट मार्टमका लागि भरतपुर अस्पताल पठाइएको निकुञ्जले जनाएको छ । फोटो : सामाजिक सञ्जाल