अजित अधिकारी
चितवन । सरकारले कोभिड १९ अर्थात कोरोना भाइरस महामारीबाट बच्न लकडाउन लागू गर्दै आइरहेको समयमा यतिबेला किसानहरु भने गहुँ काट्ने चटारोमा व्यस्त छन् ।

लकडाउनको समयमा आफ्नो बारीमा रहेको गहुँ पाकेपछि बिस्तारै खेतमा सुकिराखेको गहुँ काट्न र भित्र्याउन व्यस्त भएका हुन् ।

सरकारले लकडाउनको बेला घरमा नै बस्न आग्रह गरिरहेको समयमा वर्षभरि खाने खेती गहुँ घरभित्र भित्र्याउने चटारोमा यतिबेला किसानहरु सबै खेतबारीमा देखिन्छन् ।

उता चिकित्सकहरुले भने खेतबारीमा सबैजना भएर काम गर्दा रुघाखोकी कोही कसैलाई लागेमा संक्रमण हुने जोखिम बढ्ने हुँदा विश्व स्वास्थ्य संगठनको नियमानुसार कम्तीमा पनि २ मिटरको परमा रहेर काम गर्न, मुखमा मास्क लगाएर काम गर्न, खोक्दा र हाच्छुँ गर्दा मास्कको प्रयोग गर्नसमेत चिकित्सकहरुले किसानहरुलाई सुझाएका छन् ।

साथै, अहिलेको विषम परिस्थितिमा किसानहरुको समस्यालाई बुझेर यो महामारी प्रकोप र विपत्तिबाट बच्न र सबैमा मानवीय भावना जगाउन पनि सबै सम्बन्धित निकायलाई जनताले अपिल गरेका छन् ।

उता, माडी कृषिप्रधान क्षेत्रका रुपमासमेत परिचित छ । माडीमा अधिकांश मानिसहरु कृषि पेसातर्फ निर्भर रहेका छन् । यहाँ विशेषगरी खाद्यान्न बालीको रुपमा धान, गहुँ, मकै, कोदो, फापरलगायतका बालीहरु लगाइन्छ भने हिँउदे तथा बेमौसमी तरकारीसमेत लगाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया