चितवन । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को रोकथामका लागि सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने ६२ सवारीलाई चितवन प्रहरीले जिल्लाका विभिन्न स्थानमा कारबाही गरेको छ ।

आज लकडाउनको १५औँ दिन उनीहरुलाई नियन्त्रणमा लिएर होल्ड कारबाही गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार ४८ मोटरसाइकल, १२ स्कुटर र एक÷एक वटा म्याजिक र कारलाई कारबाही गरिएको थियोे ।

लकडाउनको उल्लंघन गरी अनावश्यकरुपमा घर बाहिर निस्किएका चार व्यक्तिलाई पनि नियन्त्रणमा लिएर होल्ड गराइएको प्रहरीले जनाएको छ ।

मंगलबार लकडाउन उल्लंघन गर्नेमा चार जना पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकनारायण कोइरालाले लकडाउन अवधिभर अटेरीगरी घर बाहिर ननिस्कने सर्तमा उनीहरुलाई साँझ ७ बजेपछि क्रमैसँग छाडिएकोे जानकारी दिए ।

पछिल्ला दिनहरुमा लकडाउन उल्लंघन गर्नेको संख्यामा भने कमी आएको छ । सोमबार ९९ सवारी साधनले लकडाउन उल्लंघन गरी होल्ड कारबाही भोगेका थिए ।

तपाईको प्रतिक्रिया