पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सेवा प्रवाहमा आनाकानी गर्ने दुईवटा एम्बुलेन्स नियन्त्रणमा लिई कारबाही गरेको छ ।

पोखरामा सञ्चालित मेट्रो सिटी र फेवा सिटी अस्पतालका ग१च ५४९२ र ग१च २७१४ नम्बरका एम्बुलेन्स सेवाग्राहीले बोलाउँदा विभिन्न बहाना गरी सेवा दिन आनाकानी गरेकोले चालकसमेतलाई नियन्त्रणमा लिई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

केसीका अनुसार लकडाउन सुरु भएदेखि हालसम्म २४ वटा गाडी कारबाहीमा परेका छन् ।

लकडाउनको अवज्ञा गर्ने तीन हजार ५७७ नागरिकलाई नियन्त्रणमा लिई सचेतनामूलक जानकारीपश्चात छोडिएको जानकारी दिँदै उनले यस अवधिमा दुई हजार ३५६ मोटरसाइकललाई कारबाही गरिएको जानकारी दिए ।

त्यस्तै, यही चैत २१ गते मानिसको मृत्यु भएकाले मलामी जानका लागि भनी जिल्ला प्रशासन कार्यालय कास्कीबाट लिएको सवारी पासको दुरुपयोग गरी मानिस ओसारपसार गरेको गरेको भन्दै स्याङ्जा भिरकोट–६ का लीलाप्रसाद पङ्गेनी र स्याङ्जाकै अर्जुनचौपारी–५ बस्ने प्रताप पौडेललाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय स्याङ्जा पठाइएको प्रहरीले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया