काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउन्डेसनले प्राथमिकताका साथ कोरोना भाइरस सङ्क्रमणको परीक्षण र उपचार गर्न सरकारलाई आग्रह गरेको छ ।
नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री कोइरालाको स्मृतिमा स्थापित फाउन्डेसनका सदस्यसचिव अतुल कोइरालाले विज्ञप्ति जारी गरी विश्वव्यापीरूपमा फैलँदै गएको भाइरस नेपालमा फैलन नदिन कोरोना परीक्षण र उपचारको दायरा बढाउन आग्रह गरेका हुन् ।
फाउन्डेसनले साधन स्रोत र उपकरणको अभावमा परीक्षणले गति लिन नसकेको भन्दै जोखिममा रहेका स्थानका नागरिकलाई उपचारको तत्काल प्रबन्ध मिलाउनुपर्ने जनाएको छ ।
सदस्य सचिव कोइरालाले नेपाल–भारत सीमामा क्वारेन्टाइनमा रहेका नागरिकलाई स्वदेशमा निगरानीका साथ राख्ने व्यवस्था मिलाउन र श्रमिक तथा न्यून आय भएका नागरिकलाई तत्काल राहतको व्यवस्था मिलाउन आग्रह गरे ।
फाउन्डेसनले नेपालमा महामारी फैलन नदिन सरकारले वैशाख ३ गतेसम्म लकडाउन गरिसकेकाले यसलाई सघाउँदै घरमै बसेर सामाजिक दूरी कायम गरी आफू जोगिने र परिवारलाई जोगाउने काममा लाग्न अपिलसमेत गरेको छ । रासस














