चितवन । चितवनको रत्ननगर नगरपालिकाले औपचारिकरुपमा बुधबारदेखि राहत वितरण सुरु गरेको छ ।

कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका अतिविपन्न वर्गलाई राहत वितरण सुरु गरिएको मेयर नारायण वनले जानकारी दिए । राहत वितरण पूर्व सो नगरपालिकाले ज्याला मजदुरी गरेर जीविका चलाउने अतिविपन्नहरुको विवरण संकलन गरेको थियो ।

सो नगरपालिकामा रहेका १६ वटा वडाका ज्याला मजदुरी गरेर पारिवार पाल्दै आएका अतिविपन्न परिवारलाई राहत वितरण गरिने मेयर नारायण बनले बताए ।

परिवार संख्याका आधारमा पाँच किलोदेखि २५ किलो चामल, एक किलो दाल, एक लिटर तेल, एक किलो नुन र हात धुने साबुन वितरण गर्ने निर्णय नगरपालिकाले गरेको थियो ।

रत्ननगर नगरपालिका वडा नं ३ मा मेयर वनले राहत हस्तान्तरण गरी वितरणको औपचारिक सुरुवात गरेका थिए । बुधवार नै वडा नं १४ का अतिविपन्न परिवारलाई पनि राहत वितरण गरिएको छ ।

राहत वितरणको औपचारिक सुरुवातसँगै आगामी दिनमा अन्य वडाहरुमा पनि राहत वितरण गरिने छ । सो नगरपालिकाले राहत वितरणमा एकद्वार प्रणाली अबलम्वन गरेको छ ।

नगरभित्रका ज्याला मजदुरी गरेर जिविका चलाउने परिवारले स्थानीय सरकारले नै राहत वितरण गर्ने गरी एकद्वार प्रणाली लागू गरिएको मेयर नारायण वनले बताए । सामाजिक संघसंस्थाहरुले राहत वितरण गर्दा एउटै परिवारले पटकपटक पाउने र कसैले पाउदै नपाउने विगतले देखाएको भन्दै मेयर वनले नदोहोरिऊन् र कोही नछुटून भन्नाका लागि एकद्वार प्रणाली अवलम्बन गरिएको हो ।

नगरपालिकाले राहत वितरणमा एकद्वार प्रणाली लागू गरेपछि निजी क्षेत्र र सामाजिक संघसंस्थाहरुले नगरपालिकालाई राहत हस्तान्तरण गरिरहेका छन् ।

सो नगरपालिकाको कार्यपालिका बैठकले राहत वितरणका लागि प्रत्येक वडालाई तीन÷तीन लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको उपमेयर विमला दुवाडीले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया