चितवन । लकडाउन समयको सदुपयोग गर्दै भरतपुर १२, चितवनमा रहेको ग्रीनल्याण्ड पब्लिक स्कुलले एसइईका विद्यार्थीहरुको लागि अनलाइन कक्षा सञ्चालन गरेको छ ।
यो निः शुल्क अनलाइन कक्षामा सहभागी हुनका लागि जुम एप डाउनलोड गरेर हरेक दिन अपरान्ह २ः०० बजे जोडिन सकिने र भिडियो कलबाटै दोहोरो छलफल गरी कक्षा लिन सकिने प्राचार्य इन्दिरा कार्कीले बताइन् ।
अनलाइन कक्षामा धेरै परीक्षार्थीहरूले सहभागी जनाएको र सहभागिता बढ्दो क्रममा रहेकोले लाइभ जोडिन असमर्थ भएकाहरूको सुविधालाई ध्यानमा राखी छलफललाई रेकर्ड गरी युट्युबमा पनि राखिने सहप्राचार्य उपेन्द्र आचार्यले जनाए ।
यो अनलाइन तयारी कक्षाबाट आफूहरू लाभान्वित भएको विद्यार्थीहरुले बताएका छन् । कोरोना भाइरसको महामारी सुरु हुनअघि त्यति धेरै चर्चा र प्रयोगमा नरहेको जुम आज घरमा बसेर कार्यालय सञ्चालनको सबैभन्दा उपयोगी टुल सावित भएको छ ।
प्रयोग गर्न सहज रहेको यो एपमार्फत प्रयोगकर्ताले चाहेअनुसार मिटिङ राख्न सक्छन् । निःशुल्क र सःशुल्क दुवै भर्सनमा उपलब्ध यो एप अघिल्लो वर्ष अप्रिलमा मात्रै सार्वजनिक भएको थियो ।















