चितवन । कालिका नगरपालिकाले विदेशबाट आएकाहरूको स्वास्थ्य परीक्षण अभियान सुरु गरेको छ। नगरभित्र ६३ जनामध्ये आज १५ जनाको परिवारको स्वास्थ्य परीक्षण हुने नगरपालिकाले जनाएको छ।
आज १० नं वडाको कालिका मन्दिरबाट परीक्षण सुरू गरिने नगरप्रमुख खुमनारायण श्रेष्ठले जानकारी दिए । नगरपालिकाभित्र कोरोना भाइरसको जोखिम रोक्न भन्दै नगरपालिकाले विदेशबाट आएका नगरवासीको तथ्यांक संकलन गरेर ती व्यक्तिहरूलाई अनिवार्यरूपमा स्वास्थ्य परीक्षण गराइने उनको भनाइ छ।
नगरप्रमुख श्रेष्ठका अनुसार ६३ मध्ये ५० जनाले १७ दिने क्वारेन्टाइन पूरा गरिसकेका छन्। १३ जना भने अझै पनि स्थानीय तहको निगरानीमा रहेका उनको भनाइ छ। ‘क्वारेन्टाइनमा रहेका व्यक्ति र परिवारलाई स्थानीय तहको समन्वयमा स्वास्थ्यकर्मी, प्रहरी, जनप्रतिनिधिलगायतको संयुक्त टोलीले हरेक दिन अनुगमन र निगरानी गरिरहेको छ,’ उनले भने।
विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को जोखिमबाट बच्न सम्पूर्णलाई एकान्तबासमै बसेर सहयोग गरिदिन पनि नगरपालिकाले आग्रह गरेको छ।
‘हामीले सबै टोलमा माइकिङ गरेरै सूचना जारी गरेका छौँ,’ उनले भने, ‘त्यसैले यस्ता विषम परिस्थितिमा लकडाउनको पूर्ण पालना गरिदिन नगरवासीलाई अनुरोध गर्दछु।’ कालिका नगरपालिकाले १५ शय्याको क्वारेन्टाइन बनाएको छ। जोखिमको सम्भावना रहेका व्यक्तिलाई त्यहीँ राखिने बताइएको छ ।