चितवन । चितवनमा सरकारले लागू गरेको लकडाउनको १७औँ दिनमा लकडाउन उल्लंघन गर्ने एक व्यक्तिसहित ९५ सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय चितवनले कारबाही गरेको छ ।

उनीहरुलाई बिहीबार जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइले विभिन्न स्थानहरुबाट नियन्त्रणमा लिएर होल्ड कारबाही गरेको हो ।

कोरोना भाइरस (कोभिड-१९) को रोकथामका लागि सरकारले कलडाउन लागू गरेको हो । बिहीबार लकडाउन उल्लंघन गर्नेहरुमा ६२ मोटरसाइकल, ३३ स्कुटर र एक जना पैदलयात्री रहेको प्रहरीले जनाएको छ ।

अनावश्यकरुपमा लकडाउन उल्लंघन गर्ने सवारीहरु तथा पक्राउ परेका एक व्यक्तिको सम्बन्धमा आवश्यक छानबिनपश्चात सम्झाइबुझाइ अतिआवश्यक कामबाहेक लकडाउन अवधिभर अटेरीगरी नहिँड्ने शर्तमा साँझ ८ बजेपछि सचेत गराएर छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

पछिल्ला केही दिनयता लकडाउन उल्लंघन गर्नेको संख्यामा भने कमी आएको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार लकडाउन सुरू भएदेखि हालसम्म ८२७ पुरुष तथा ४२ महिलालाई होल्ड कारबाही गरिएको छ । यस्तै, हालसम्म एक हजार १५९ सवारी साधनलाई कारबाही गरिएको छ ।

तपाईको प्रतिक्रिया