चितवन । नेकपा रत्ननगर नगरकमिटीले कोरोना भाइरस नियन्त्रण र विपन्नलाई राहत वितरण गर्ने कार्यमा सम्पूर्ण पार्टीपंक्ति परिचालन गर्ने भएको छ ।

नगरकमिटीले आइतबार एक विज्ञप्ति जारी गरी कोरोना भाइरस नियन्त्रण, यसको अन्त्य र विपन्न परिवारलाई राहत उपलब्ध गराउने कार्यमा पार्टीका नेता तथा कार्यकर्ता परिचालन गर्ने भएको हो ।

कोरोना नियन्त्रणको लागि केन्द्र सरकार र स्थानीय सरकारले सञ्चालन गर्ने हरेक क्रियाकलापमा पार्टीका नेता तथा कार्यकर्ताहरुले सहयोग गर्ने विज्ञप्तिमा जनाइएको छ ।

नगर कमिटी अध्यक्ष कुलप्रसाद लामिछाने र सचिव ओम लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा नगरभित्र कोरोना संक्रमण फैलिन नदिन क्वारेन्टाइन व्यवस्थापन, संक्रमण फैलिन नदिने उपाय र राहत व्यवस्थापन र वितरणको प्रक्रियामा पार्टीका नेता तथा कार्यकर्ताहरुले नजिकबाट सहयोग गर्ने, आम जनसमुदाय तथा नगरवासीलाई आत्मबल प्रदान गर्ने कार्यमा लाग्ने लाग्न निर्देशन गरिएको छ ।

नेकपा रत्ननगरले क्वारेन्टाइन सञ्चालन र व्यवस्थापनको साथै संक्रमण भइहालेमा बिरामीहरुको उपचारलाई व्यवस्थित तथा प्रभावकारी बनाउनुपर्ने सम्भावनालाई मध्यनजर गरी राहत वितरणको बस्तुपरक समीक्षा गर्न, कोरोानको प्रकोप बढ्न नदिन र संक्रमण भइहालेमा बिरामीको स्वास्थ्य उपचारलाई तदारुकतापूर्वक सहज, भरपदो र विश्वसनीय बनाउन तथा स्थानीय संघसंस्था, सामाजिक व्यक्तित्व, राजनीतिक दलहरु र जनप्रतिनिधिहरुबीचको समन्वयलाई सशक्त बनाएर परिचालन गर्न नगरपालिकालाई आग्रह गरेको छ ।

साथै, नगरभित्रका विभिन्न तह र तप्कामा रहेका व्यक्तित्वहरु, पेसा, व्यवसायी, उद्यमी, संघसंस्था, राजनीतिक पार्टीहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई अझ सावधानीपूर्वक यस महामारीको सामना गर्न र आआफ्नो ठाउँबाट दिल खोलेर सहयोग गर्न अपिल गर्दै कोरोनाबाट जोगाउन मुलुक लकडाउनको अवस्थामा रहेको भन्दै यसको पालनाले मात्र संक्रमण फैलिनबाट जागिने विज्ञप्तिमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया