
चितवन । कोभिड–१९ (कोरोना भाइरस) रोकथाम र प्रतिकार्यको लागि नेपाल रेडक्रसले आपतकालीन सेवालाई सजगताका साथ तीव्रता दिएको छ । सोसाइटीका सबै निकाय एवं शाखाहरुले सामुदायिक परिचालन र क्वारेन्टाइनमा सहयोग गरेका छन् ।
बेलका नगरपालिका, उदयपुरमा स्थापित क्वारेन्टाइनमा नेपाल रेडक्रसको सहयोगनेपाल रेडक्रसका उपमहामन्त्री हरिप्रसाद न्यौपानेका अनुसार देशभरिका क्वारेन्टाइन क्षेत्रमा संस्थाबाट ३ हजार ४८९ कम्मल, २ हजार २०० तारपोलिन र टेन्ट, १ हजार १४२ बाल्टी र जग, ५ हजार १०० थान साबुन, १ हजार ५०३ वटा म्याट्रेस, २५३ पिस तन्ना, १ हजार २०० पिस झुललगायतको सामग्री सहयोग गरिएको छ ।
नेपाल सरकारको स्वास्थ्य मन्त्रालयसँग निकटमा रही सन् २०२० को जनवरीदेखि कोरोना भाइरसको प्रतिकार्य र रोकथाममा नेरेसोले काम गर्दै आएको उपमहामन्त्री न्यौपानेको भनाइ छ ।
समस्या सुरु हुनेबित्तिकै नेरेसो आपत्कालीन अपरेसन सेन्टरलाई सक्रिय बनाएर सोहीअनुसार जोखिम न्यूनीकरणका लागि नेपाल सरकार, रेडक्रसका अन्तर्राष्ट्रिय महासंघ, युएनलगायतका निकायसँग आवश्यक समन्वय गरी काम भइरहेको उनले बताए ।
समुदायमा चेतना कार्यक्रम, स्थानीय संघसस्थाहरूसँग बैठक, सूचना, शिक्षा तथा सञ्चार सामग्रीको वितरण, एफएम रेडियोमार्फत् समुदायलाई आवश्यक सही सूचनाहरू प्रचारप्रसार गतिविधिहरुमा नेरेसोका युवा स्वयंसेवकहरु परिचालित भएका छन् ।
अग्रपंक्तिका स्वयंसेवकहरुले हात धुने अभियान, जानकारी पत्र वितरण, माइकिङ, औषधि छर्ने, मास्कहरुको वितरण गर्नेजस्ता कामहरु लकडाउनमा पनि स्थानीय निकायहरुको सहकार्यमा गरिरहेका छन् ।

यस्तो गतिविधिबाट १ लाख ४२ हजार ५६ जना प्रत्यक्ष लाभान्वित भएका छन् । ५ लाख १८ हजार थान पम्प्लेट, फ्लेक्स र स्टीकरहरु वितरण गरिएको छ । अस्पताल र क्वारेन्टाइनका हेल्प डेक्समा ९१४ जना स्वयंसेवकहरु खटिएका छन् । त्यस्तै, हात धुने अभ्यास शिक्षा २ हजार २२ जनालाई दिइएको छ भने मनोवैज्ञानिक सहयोग आवश्यक परेका ८१ जनालाई टेलिफोनमार्फत् सहयोग गरिएको उनको भनाइ छ ।
क्षतिको रोकथाम तथा नियन्त्रण गर्न मद्दत पु¥याउने गरी प्रतिकार्य गतिविधिको कार्यविधि र कार्ययोजना नै तयार भैसकेको नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले बताए ।
उनले सामुदायिक आवश्यकता र संलग्नताको अवधारणाबमोजिम जनचेतनामूलक र सहयोग कार्यक्रमहरु केन्द्रदेखि जिल्लास्तरमा सञ्चालन हुनेछन् । स्रोतको उपलब्धताअनुसार तनहुँ, कास्की, ललितपुरलगायतका जिल्लामा अपांगता भएका, अतिविपन्न परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।
निःशुल्क हटलाइन सेवा
नेरेसोले निःशुल्क हटलाइन सेवा ११३० सञ्चालन गरिएको छ । जसमा लकडाउनपछि १७५ कलको सम्बोधन गरिएको र यस्तै मनोवैज्ञानिक समस्या, महिला तथा बालबालिका हिंसा विषयमा परामर्शको लागि छुट्टै दक्ष समूह बनाइएको कार्यकारी निर्देशक ढकालले जानकारी दिए ।

विभिन्न तरिकाले फैलिएको अफवाह वा भ्रम कम गराई मानसिक दबाब, पीडा, डरका साथै समुदायमा हुनसक्ने हेयभाव कम गराउनतर्फ पनि वेभ, सामाजिक सञ्जाल, रेडियो, टेलिभिजनजस्ता माध्यमबाट सञ्चार भइरहेको र कोभिड सचेतनाका विविध विषयलाई समेटिने गरी २५ वटा रेडियो कार्यक्रम विभिन्न एफएम स्टेसनबाट प्रसारित भइसकेको उनको दाबी छ । युवालाई थप सक्रिय बनाउन सामाजिक सञ्जाल स्वयंसेवा समूहलाई सक्रिय बनाइएको छ । यसमा ७५० बढी स्वयंसेवकहरु आबद्ध भैसकेका छन् ।
व्यक्तिगत सुरक्षाको प्रबन्ध
अस्पताल तथा स्वास्थ्य डेस्कमा रेडक्रस स्वयंसेवक र कर्मचारीहरुले देशका विभिन्न हब अस्पतालका हेल्प डेक्समा सहयोग गरिरहेका छन् ।
यसैबीच, थप सजगता अपनाउन केन्द्रीय कार्यालयलगायत सबै कार्यस्थलमा प्रवेश गर्ने कर्मचारी तथा स्वयंसेवकको तापक्रम नाप गर्ने, गेटबाट पस्नेबित्तिकै हात धुने, बैठक बस्नै परेमा दूरी कायम गर्ने उपायहरु अवलम्बन गरिएको छ र रक्तसञ्चार केन्द्रमा रगतको मागको लागि आउने बिरामीका आफन्तहरुलाई पनि यस्तै सुरक्षाका उपायहरु अपनाइने गरिएको कार्यकारी निर्देशक ढकाल बताउँछन् । जसअन्तर्गत ३४२ परिवारलाई सरसफाइ किट उपलब्ध गराइएको छ ।

देशभर ३०० जना रक्तसञ्चार सेवामा कार्यरत कर्मचारी र २४० एम्बुलेन्स चालकहरुलाई फुलबडी गाउन उपलब्ध गराइनुका साथै समुदायको सहयोगको लागि एकलाख १०० पिस मास्क र ग्लोब वितरण गरिएको छ ।
यस्तै, जिल्ला जिल्लामा कोभिड १९ मा खटिने स्वयंसेवकलाई दूर शिक्षाबाट प्रविधिको प्रयोगबाट तालिम दिइएको छ । १०० जना एम्बुलेन्स चालकलाई सुरक्षासम्बन्धी दूर शिक्षाबाट जानकारी दिइएको छ ।
काभ्रे र सिन्धुपाल्चोकमा चल्ने सबै संस्थाका एम्बुलेन्सको कन्पार्टमेन्ट नेरेसोको अगुवाइमा भैरहेको छ । धनुषा, कञ्चनपुरमा शाखा आफैँको पहलमा र कतिपयमा सरकार वा समितिको सहयोगमा सो काम भैरहेको उपनिर्देशक न्यौपानेले बताए ।
शव व्यवस्थापनमा सहयोग
नेपाल प्रहरीको विपत् व्यवस्थापन विभागलाई १५० थान शव व्यवस्थापन व्याग उपलव्ध गराइएको छ । त्यस्तै, धुलिखेल अस्पताललाई ५० वटा तथा नेपाली सेनालाई ५० वटा व्याग दिइएको छ ।
पारिवारिक सम्पर्क स्थापना, कैदीबन्दीहरुलाई सहयोग, मनोसामाजिक परामर्श तथा सहयोगजस्ता क्षेत्रमा कामगरी जीवन सहज बनाउन रेडक्रसकर्मीहरु खटिएका छन् । केन्द्रीय कारागारमा १० थान टेन्टसमेत उपलव्ध गराइएको छ ।
जिल्लाहरुको विशेष सहयोग
भक्तपुर शाखाले जिल्लाका ४ वटा हरेक नगरपालिकालाई एक/एक लाख सहयोग उपलव्ध गराएको छ ।
निर्देशिकाहरु तयारी
अहिले काम गर्ने तरिकालाई निर्देशित गर्न कोभिड-१९ रेस्पोन्स गाइडलाइन तयारी गरी निकायहरुमा पठाइएको छ । यसले नेरेसोका विभिन्न निकायहरु र स्वयंसेवकको भूमिका प्रष्ट पारेको छ ।
त्यस्तै, संक्रमण रोकथामको लागि चाल्नुपर्ने व्यावहारिक कदमको लागि गाइडलाइन, इन्फेक्सन, प्रिभेन्सन एण्ड कन्ट्रोल तयारी गरिएको छ । यसैगरी पारिवारिक सम्पर्कको पुनःस्थापनाको लागि निर्देशिका पनि तयार भएको रेडक्रस अधिकारीहरु बताउँछन् ।