चितवन । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्थायी अस्पतालबाट बुधबारसम्म ३८४ जनाले सेवा लिएका छन् । जसमध्ये १७४ जना अस्पताल भर्ना भएका थिए ।

गत चैत ७ गतेदेखि कोरोनाको आशंका गरिएका बिरामीको लागि भनेर स्थापना गरिएको कोरोना अस्थायी अस्पतालबाट १६९ जनाको नमुना परीक्षण गर्दा हालसम्म कसैको पनि रिपोर्टमा कोरोनाको संक्रमण देखिएको छैन ।

कोरोना अस्पतालका सदस्य सूर्य तिवारीका अनुसार कोरोना अस्पतालबाट १६९ र अन्य अस्पतालहरुबाट आएका ८१ गरी २५० जनामा कोरोना भाइरसको परीक्षण गरिएको थियो। अस्पतालमा भर्ना भएकामध्ये १६७ जना घर फर्किसकेका छन् ।

पछिल्लो समय कोरोना भाइरसको परीक्षण चितवनबाटै भइरहेको छ। सुरुवाती दिनहरुमा कोरोना भाइरसको परीक्षण गर्न काठमाडौँ पठाउनुपर्ने बाध्यता थियो ।

केही समयपछि हेटौँडाबाट परीक्षण गर्दै आएको थियो। तर, अहिले एकपटकमा ९० वटा नमुना परीक्षण गर्न मिल्नेगरी चितवनमै कोरोना परीक्षण प्रयोगशाला स्थापना भएपछि चितवन र आसपासका जिल्लाबाट आएको नमुना परीक्षणमा सहज भएको हो ।

तपाईको प्रतिक्रिया