चितवन । नेपाल सरकारले भूमि समस्या समाधान आयोगको अध्यक्षमा नेकपा चितवनका नेता देवी ज्ञवालीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा नेकपा केन्द्रीय सदस्यसमेत रहेका ज्ञवालीलाई नियुक्त गरेको हो ।
भरतपुर महानगरको निर्वाचनपश्चात् चर्चामा आएका उनी आयोगको १५औँ अध्यक्ष हुन् । विसं २०४६ सालयता बनेका सरकारले १४ वटा आयोग गठन गरिसकेको छ ।
यस्तै आयोगको सदस्यहरुमा जगतबहादुर देउजा, दिनेशचन्द्र यादव, भीम कार्की, मञ्जलीकुमार शाक्य नियुक्त भएका छन् । समितिलाई भूमिहीन सुकम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने अधिकार पनि दिइएको छ।
आयोग निर्माणपश्चात सुकुम्बासी, भूमिहीन तथा विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी अव्यवस्थित बसोबासको समस्याको दीर्घकालीन समाधान हुने अपेक्षा गरिएको छ ।
सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोवास गर्नेको यकिन तथ्यांक नरहेको अवस्थामा अयोगले वास्तविक सुकुम्बासीको पहिचान गरी समस्या समाधान गर्ने जिम्मेवारी पूरा गर्न लागिपर्ने ज्ञवालीले बताए।
विसं २०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा तत्कालीन नेकपा एमालेको तर्फबाट मेयरमा उम्मेदवार बनेका थिए । उनी तत्कालीन एकीकृत माओवादी र कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेकी रेणु दाहालसँग पराजित भएका थिए ।
मतगणनाको अन्तिम समयमा तत्कालीन एकीकृत माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि एउटा वडामा पुनः मतदान भएको थियो। त्यसपछि ज्ञवाली झिनो मतले मात्र पराजित भएका थिए ।












