चितवन । पूर्वी चितवनको रत्ननगर १४ स्थित पिठुवाका ४७ वर्षीय एक पुरुष र राप्तीकी ६५ वर्षीया एक महिलामा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

गुञ्जमान सिंह हस्पिटलमा निर्माण गरिएको अस्थायी कोरोना आइसोलेसन केन्द्रमा गरिएको परीक्षणका ती पुरुषमा कोरोना पोजेटिभ देखिएको रत्ननगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार उनको थप परीक्षणका लागि थ्रोट स्वाब संकलन गरी भरतपुरस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा पठाइएको बताए ।

निज पुरुष गत फागुन ३० गते कोरियाबाट रत्ननगरमा आएको बताइएको छ । उनलाई गुञ्जमानमा रहेको आइसोलेसन केन्द्र राखिएको छ ।
पोजेटिभ देखिएका ती पुरुषको परिवारका सदस्यहरुको पनि परीक्षण गरिने छुट्टै क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए ।

रत्ननगरमा बुधबार ३९ जनाको र्‍यापिड डायग्नोस्टिक टेस्टमार्फत परीक्षण गरिएको हो । मंगलबार पनि ४९ जनाको परीक्षण गरिएको थियो ।

यसैगरी, बुधबारै राप्ती नगरपालिका ६ की एक महिलामा पनि र्‍यापिड डायग्नोस्टिक टेस्टको नतिजा पोजेटिभ देखिएको छ ।

राप्ती नगरपालिकाकी नगर प्रमुख प्रभा बरालले गत चैत ५ गते दुई छोराको साथमा बेलायतबाट हङकङ हुँदै चितवन आएकी ती महिलामा कोरोना कोरोना भाइरस पोजेटिभ देखिएको जनाएकी छन् । तर, दुई छोराको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

आमा र दुई छोरालाई भरतपुर अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिएको र उनको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि भरतपुरस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा पठाइएको उनले बताइन् ।

तपाईको प्रतिक्रिया