गोरखा । र्‍यापिड डाइग्नोस्टिक टेष्टमा नतिजा कोरोना पोजेटिभ देखिएका गोरखाको आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय एक युवकमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोरोना परीक्षण प्रयोगशालामा आज गरिएको स्वाब परीक्षणका क्रममा ती युवकमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको हो ।

‘आरुघाट गाउँपालिकाभित्र मङ्गलबार गरिएको र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) का क्रममा कोरोना पोजेटिभ देखिएका भनिएका युवकको पिसिआर टेष्टको नजिता आज आएको हो, गोरखा अस्पतालका कोभिड–१९ का फोकल पर्सन नारायण अर्यालले भने, “ पिसिआर टेष्टमा उहाँको रिपोर्ट नेगेटिभ आएको छ ।”

र्‍यापिड डाइग्नोस्टिक टेष्टमा पोजेटिभ आए पनि नेगेटिभ आए पनि पिसिआर टेष्ट नगरी के हो भन्न नसकिने भएकाले तत्काल युवकको स्वाब परीक्षणका लागि हिजै पोखरा पठाइएको थियो । गएको फागुन २२ गते बहराइनबाट फर्किएका ती युवकलाई क्वारेन्टाइनमा राखिएको थियो ।

गोरखाका ११ वटै स्थानीय तहमा भारतलगायतका विभिन्न देशबाट आएकाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट भइरहेको छ । चैत १ गतेदेखि यता ३१४ जना जिल्लामा प्रवेश गरेको तथ्याङ्क रहेको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया