चितवन । र्‍यापिड डाइग्नोस्टिक टेस्टमा कोरोना पोजिटिभ देखिएका चितवनको रत्ननगर नगरपालिका–१२, पिठुवाका एक व्यक्तिको स्वाबबाट पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको छ ।

बुधबार गरिएको र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) परीक्षणमा पोजिटिभ देखिएपछि पुनः स्वाब संकलन गरी भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा आजै परीक्षण गरिएको थियो । पिसिआरमार्फत परीक्षण गर्दा ती पुरुषमा कोरोना नेगेटिभ रिपोर्ट आएको हो ।

कोरोनाको आशंका गरिएका रत्ननगरका ४७ वर्षीय पुरुष गत फागुन ३० गते कोरियाबाट नेपाल आएका थिए । उनी आएलगत्तै १४ दिन होम क्वारेन्टाइनमा बसेका थिए । त्यसपछि उनी खासै धेरै व्यक्तिको सम्पर्कमा नपुगेको स्थानीयले बताएका छन् । ती पुरुषमा कोरोनाको कुनै पनि लक्षण देखिएको छैन ।

उनको स्थानीय गुञ्जमान सिंह हस्पिटलमा बुधबार र्‍यापिड टेस्ट गरिएको थियो । र्‍यापिड टेस्टपश्चात घर पुगेका उनलाई रिपोर्ट पोजिटिभ आएपछि अस्पताल बोलाइएको थियो । उनी अहिले गुञ्जमान सिंह हस्पिटलको आइसोलेसनमा छन् ।

बुधबार अस्पतालमा ३९ जनाको र्‍यापिड टेस्ट गरिएकोमा एक जनामा मात्र पोजिटिभ देखिएको थियो । यस्तै, आजै अन्य तीन जनाको पनि स्वाब संकलन गरी भरतपुर प्रयोगशाला पठाइएको छ ।

यस्तै, मंगलबार पनि सोही अस्पतालमा १८ जनाको र्‍यापिड टेस्ट र ४ जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गरिएको थियो । ती सबैको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

तपाईको प्रतिक्रिया