चितवन । गत वैशाख २ गतेदेखि बेपत्ता भएका रत्ननगर ७ का ४३ वर्षीय लालकुमार राउत मृत फेला परेका छन् ।

राप्ती नदीमा माछा मार्न जानेक्रममा बेपत्ता भएका उनको खोजतलास गर्ने क्रममा आज चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत राप्ती नदीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ । राउत बेपत्ता भएको भन्दै उनका आफन्तहरुले बुधबार नै प्रहरीमा निवेदन दिएका थिए ।

माछा मार्न राप्तीमा गएका भनिएका उनको गोहीको आक्रमणबाट मृत्यु भएको आशंका गरिए पनि घटनाको प्रकृति हेर्दा गोहीले नै आक्रमण गरेको भन्न नसकिने इलाका प्रहरी कार्यालय रत्ननगरका डिएसपी रवीन कार्कीले बताए ।

राउतको टाउकोमा सामान्य चोट लागेको छ भने शरीरमा त्यस्तो कुनै पनि घाउचोट देखिएको छैन । राउतसँगै माछा मार्न गएका ६ जनामध्ये एक जनाले राउतलाई गोहीले आक्रमण गरेको भन्दै परिवारलाई खबर गरेका थिए ।

राउतको शव पोस्ट मार्टमको लागि भरतपुर अस्पताल पठाइएको छ । प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ भने अन्य पाँचजना फरार रहेका छन् । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया