पोखरा । कोरोना भाइरस सङ्क्रमणबाट जोगिन गरिएको लकडाउन अझै प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले सवारी पासमा कडाइ गरेको छ । प्रशासनले आज एक सूचनामार्फत मृत्यु संस्कारमा सहभागी हुन जाने व्यक्तिका लागि मात्रै इ–पास उपलब्ध गराउने जनाएको छ ।

सूचनामा उल्लेख भएअनुसार सवारी इ–पास पेश भएको प्रमाणका आधारमा परिवारका सदस्यको मृत्यु संस्कारमा सहभागी हुन जाने व्यक्तिलाई मात्र प्रदान गरिने जनाइएको छ ।

सवारी पास लिने अत्याधिक भएपछि त्यसको व्यवस्थापन गर्न उक्त निर्णय लिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानबहादुर ढकालले जानकारी दिनुभयो । उनका अनुसार इ–पासका लागि एक हजार ६ सयले निवेदन दिएका छन् ।

अन्य सामान्य विषयका लागि इ–पास प्रणालीमा अनुरोध नगरिदिनसमेत उनले आग्रह गरे । लकडाउन थप प्रभावकारी बनाई कोभिड– १९को सङ्क्रमण रोकथाम र नियन्त्रणमा सहयोग गर्न आग्रहसहित सूचना जारी गरिएको ढकालले बताए ।

जिल्ला प्रशासन कार्यालय कास्कीले गृह मन्त्रालयको निर्देशनलाई समेत ध्यान दिँदै आजदेखि इ–पासको सुरुआत गरिएको उनको भनाइ थियो । रासस

तपाईको प्रतिक्रिया