
चितवन । अत्यावश्यक खाद्यवस्तु बिक्री गर्ने पसलहरुको सञ्चालनका विषयमा भरतपुर महानगरपालिकाले आफ्नो विज्ञप्ति संशोधन गरेको छ । महानगरले दोस्रो विज्ञप्ति जारी गरी तोकिएको समयमा खाद्यवस्तु खरिद बिक्री गर्न सर्वसाधारणहरुलाई आग्रह गरेको छ ।
यसअघि महानगर र जिल्ला प्रशासन कार्यालयले गरेको निर्णय बाझिएको थियो । ‘दैनिक उपभोग्य सामानहरु फलफूल, तरकारी, माछामासु, दूध, पशुपक्षीको दाना र किरानाजन्य खाद्यवस्तु किनबेच गर्दा सामाजिक दूरी कायम राखी तोकिएको समयावधिभित्र खरिद बिक्री गरी लकडाउनको उल्लंघन नगर्नु/नगराउनु हुन सम्पूर्ण महानगरवासीलाई आग्रह गर्दछु’, महानगरका प्रवक्ता अरुण पीडित भण्डारीद्धारा हस्ताक्षरित संशोधित विज्ञप्तिमा भनिएको छ ।
जिल्ला प्रशासन कार्यालयले गरेको निर्णयअनुसार नै पसल सञ्चालन हुने पक्का भएको छ । औषधिपसल, खानेपानीका जार बेच्ने पसल, ग्यास डिपो, पेट्रोल पम्प, खाद्यान्नमात्र बिक्री गर्ने पसल, पशुपक्षीको दाना बिक्री गर्ने पसल, ठेलागाडा र साइकलमा तरकारी बेच्ने पसल र डेरीहरु बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्ममात्रै खुला हुन पाउने छन् ।