चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षणमा चितवनका दुई जनामा कोरोना पोजिटिभ पाइएको हो । राप्ती ८ का संक्रमितहरु आमा छोरा हुन् ।

उनीहरु चैत ३ गते बेलायतबाट कतार एयरवेजमा नेपाल आएका थिए । उनीहरुको बिहीबार भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा नै कोरोना पोजिटिभ देखिएपछि टेकुमा बिहीबार साँझ पुनः परीक्षणका लागि पठाइएको थियो ।

चितवनका संक्रमितहरुलाई भरतपुर अस्पतालको आइसोलेसन बार्डमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएको छ ।

यसैगरी, उदयपुरका १२ जनामा पनि कोरोनाको संक्रमण भेटिएको केन्द्रीय प्रयोगशालाले जनाएको छ । १२ जनामध्ये केही भारतीय पनि रहेका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ३० पुगेको छ । जसमा दुई जना उपचारपश्चात् निको भएका छन् ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले तेस्रो चरणमा गरी वैशाख १५ गतेसम्म लकडाउन लागू गरेको छ । नेपालमा हालसम्म कोरोना भाइरसको आशंकामा १५ हजार ८०० जनाको नमुना परीक्षण गरिएकोमा ३० जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

तपाईको प्रतिक्रिया