मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकामा रहेको एम्बुलेन्सले सिकिस्त निमोनिया भएका बिरामीलाई अस्पताल लैजान अस्वीकार गरेका छन् ।

निमोनियाको कारण सिकिस्त बनेका इन्द्रावती गाउँपालिका–७ पोखरेका गणेश रोक्कालाई भीमटारका एम्बुलेन्स चालकले अस्पताल लैजान अस्वीकार गरेका हुन् ।

गाउँपालिकाको तीन वटा एम्बुलेन्समध्ये कुनै एम्बुलेन्सले पनि बिरामीलाई अस्पताल लैजान नमानेको भन्दै स्थानीयवासीले आपत्ति जनाएका छन् ।

बिरामी रोक्काले अर्बुदरोगका कारण एउटा हात पनि गुमाइसकेका थिए । एम्बुलेन्स चालकले बिरामीलाई अस्पताल लैजान नमानेको इन्द्रावती गाउँपालिका–७ का वडा सदस्य तिलक रोक्काले बताए ।

उनका अनुसार गाउँपालिकाले तीन वटा एम्बुलेन्स चालकलाई नै आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउँदासमेत एम्बुलेन्स चालकले अवज्ञा गरी बिरामी लैजान नमानेको उनले बताए ।

इन्द्रावती गाउँपालिकाका प्रमुख वंशलाल तामाङले भीमटारका एम्बुलेन्सले नमानेको र नवलपुरबाट बिरामीलाई बोक्न एम्बुलेन्स पठाएको बताएका छन् । रासस

तपाईको प्रतिक्रिया