धादिङ । धादिङ प्रशासनले बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकविरुद्ध मुद्दा दर्ता गरेको छ । बिहीबार पक्राउ गरिएका अभियुक्तलाई हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गरिएको छ ।
कोभिड–१९ को महामारी रोक्न गरिएको लकडाउनका बेला ज्वरो आएको बिरामी बोक्न नमानेपछि ज्वालामुखी स्वास्थ्यचौकीका एम्बुलेन्स चालक किशन श्रेष्ठविरुद्ध स्थानीय प्रशासनअन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
धादिङको ज्वालामुखी गाउँपालिकाको मैदी स्वास्थ्यचौकीका एम्बुलेन्स चालक किशन श्रेष्ठविरुद्ध स्थानीय प्रशासनअन्तर्गत अभद्र व्यवहारको मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रूपक खड्काले बताए ।
यही वैशाख २ गते मंगलबार आरडिटी परीक्षणमा पोजेटिभ नतिजा आएपछि ज्वालामुखी अमराईका एक युवालाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याउन स्वास्थ्यचौकीको एम्बुलेन्स खोज्दा चालक श्रेष्ठ सम्पर्कविहीन भएका थिए ।
स्वास्थ्यचौकीको एम्बुलेन्सले बिरामी बोक्न नमान्ने र अन्य एम्बुलेन्ससमेत गाउँ जान नमानेपछि ती युवा रातको समयमा आफैँले मोटरसाइकल चलाएर अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका थिए ।
बिरामी बोक्न नमान्ने तर निजी मेडिकलको सामान बोकेर हिँडेको गाउँवासीले फेला पारेपछि अमराईका स्थानीयले एम्बुलेन्स नियन्त्रणमा लिई तोडफोडसमेत गरिदिएका थिए ।
स्थानीयले दबाब दिएपछि चालक बिहीबार पक्राउ परेका थिए । पक्राउ परेका चालकलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गर्नका लागि अदालतबाट म्याद थप गरिएको छ ।















