चितवन । चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले हरेक नयाँ वर्षमा भित्तेपात्रो प्रकाशन गरेसँगै नयाँ वर्ष २०७७ को भित्तेपात्रोको पनि विमोचन गरेको छ ।

शनिबार भरतपुरमा एक कार्यक्रमका बीच पत्रिकाले भित्तेपात्रो विमोचन गरेको हो । सो भित्तेपात्रो वरिष्ठ कलाकार ॠद्धिचरण श्रेष्ठले विमोचन गरेका हुन् ।

विमोचन पछि बोल्दै श्रेष्ठले यस्तो विषम परिस्थितिमा पनि पत्रिकाले भित्तेपात्रो प्रकाशन गर्न सफल भएको भन्दै प्रशंसा गरे । उनले विगतदेखि नै स्थानीयस्तरमा पाठकको मन जित्न सफल यस पत्रिकाको सफलताको कामना गरे ।

सो क्रममा बोल्दै पत्रिकाका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले लकडाउनको कारण नयाँ वर्षमा अधिकांश संस्थाले भित्तेपात्रो प्रकाशन गर्न नसके पनि पत्रिकाले आमपाठक, विज्ञापनदाता, शुभचिन्तकको लागि दायित्व निर्वाह गरेको बताए ।

आगामी वर्षमा समेत आफ्ना नियमित प्रकाशनलाई निरन्तरता दिने बताउंँदै कार्कीले सधैँ आफ्ना पाठक, विज्ञापनदाता र शुभचिन्तकको साथ सहयोगको अपेक्षा गरे । कार्यक्रममा भित्तेपात्रो विमोचनसँगै नयाँ वर्ष २०७७ सालको शुभकामनासमेत आदानप्रदान गरिएको थियो ।

पत्रिकाका महाप्रबन्धक हरि कार्की ‘लक्की’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रिकाका स्तम्भ संयोजक प्रमुख जय पाठक (जे.पी) ले सञ्चाललन गरेका थिए ।

तपाईको प्रतिक्रिया