चितवन । नेकपा जिल्ला संगठन कमिटी कार्यालय टिमको बैठक अध्यक्ष यमबहादुर परिवार ‘इन्द्रजीत’को अध्यक्षता र पार्टी केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका अध्यक्ष नारायण दाहालको प्रमुख आतिथ्यतामा आइतबार सम्पन्न भएको छ ।

बैठकमा केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज कृष्णप्रसाद खनाल र केन्द्रीय सदस्य एवम् महानगर इन्चार्ज रेनु दाहालको विशेष उपस्थिति रहेको थियो । बैठकले सरकारले जारी गरेको लकडाउनलगायत स्वअनुशासनको नियममा बसी जनताले देखाएको ऐक्यबद्धतालाई धन्यवाद दिँदै केही दिन कठिन नै भए पनि लकडाउनलाई पूर्ण पालना गरी कोरनाविरुद्धको लडाइँमा विजय हासिल गर्न आग्रह गरेको छ ।

यस्तै, कोरना विशेष अस्पताल, कोरना परीक्षण ल्याब निर्माणजस्ता महत्त्वपूर्ण कामहरू भई सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दल, चिकित्सक, उद्योग वाणिज्य संघ, उद्योग संघजस्ता सरोकारवाला संघसंस्थाको पहलकदमीमा सम्पन्न भएकाले सबै सरोकारवालाहरूलाई बधाई दिँदै असहज परिस्थितिमा अरू एकताबद्ध भई लाग्न आह्वान गरिएको छ ।

यस्तै, लकडाउनको समयमा दैनिक ज्यालागरी खाने श्रमजीवी वर्गमा खाद्य संकट हुने हुँदा सबै स्थानीय तहलाई कुनै पनि जनता भोकै नपर्नेगरी राहत उपलव्ध गराउन अनुरोध गरेको छ । स्थानीय तहमार्फत एकद्वार प्रणालीबाट राहत वितरण गर्ने र संकलन र वितरणमा स्थानीय तहसँग समन्वय गरी सम्पूर्ण पार्टी कमिटीहरू सक्रियरूपमा लाग्न पनि अनुरोध गरिएको छ ।

यसैगरी, कोरना रोगको रोकथाम र राहत व्यवस्थापन कामको स्थानीय तहसँग समन्वयगरी पार्टी परिचालनका लागि कार्यालय सदस्य तेजेन्द्रबहादुर खड्काको संयोजकत्वमा कार्यालयका सदस्यहरू चार जना र स्थानीय तहका सात जना अध्यक्षहरू रहेको कार्यदल गठन गरिएको सो पार्टीले जनाएको छ ।

यसैबीच, शनिबार आएको हावाहुरी र असिनापानीले कृषकहरूको अन्नबाली, केरालगायत फलफूलमा क्षति पु¥याएकाले तथ्यांक लिई किसानहरूलाई उचित राहत प्याकेज घोषणा गर्न पनि विज्ञप्तिमार्फत सम्बन्धित निकायसँग माग गरिएको छ ।

लकडाउनकै अवधिमा पनि किसानलाई आफ्नो बारीमा काम गर्ने कृषि औजारहरू र आवतजावतमा बाधा नपु¥याउन एवम् समयमा नै मलबीउको व्यवस्थापन गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै आगामी वर्षको बजेट निर्माण गर्दा कृषि उत्पादन वृद्धि भई आत्मनिर्भर हुन सक्ने बजेट बनाउन पनि तीनै तहका सरकारलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

तपाईको प्रतिक्रिया