लमजुङ । लमजुङको बेँसीसहर नगरपालिका– ७ सहजीमा स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनबाट भागेका एक युवकको प्रहरीले खोजी गरिरहेको छ ।

कोरोना भाइरस संक्रमण रोक्न लागु गरिएको लकडाउनका बेला चितवनबाट लमजुङ पुगेका पूर्णबहादुर मिजारलाई आइतबार उक्त क्वारेन्टाइनमा राखिए पनि त्यहाँबाट सोही दिन भागेपछि नगर प्रहरीले खोजी तीव्र बनाएको छ ।

घरमा आमा र बहिनी बिरामी हुनुहुन्छ भन्दै चितवनबाट साइकलमा बेँसीसहर पुगेका नगरपालिका ६ पुमागाउँका १८ वर्षीय मिजार क्वारेन्टाइनबाट सम्पर्कविहीन भएपछि खोजिएको नगर प्रमुख गुमानसिंह अर्यालले बताए ।

बाहिरी जिल्लाबाट आएकाले उनलाई क्वारेन्टाइनमा राखिएको र भागेपछि घरमै प्रहरी पुग्दा त्यहाँबाट पनि जंगल भागेपछि हालसम्म नभेटिएको उनले जानकारी दिए ।

उक्त क्वारेन्टाइनमा नौ जना छन् । त्यहाँ सशस्त्र र नेपाल प्रहरीका दुईदुई प्रहरी सुरक्षामा खटिएका छन् । उनीहरुको आँखा छलेर ती युवक फरार भएका हुन् । उनकी आमा र बहिनीको हात भाँचिएको वडाध्यक्ष भोजबहादुर रिमालले बताए ।

मिजार क्वारेन्टाइनबाट भागेपछि घर पुगेर लुगा फेरेर फरार भएका थिए । घरको परिवारले कपडा छोएकाले तीसमेत क्वारेन्टाइनमा बस्नका लागि तयार रहेको वडाध्यक्ष रिमालको भनाइ छ ।

तपाईको प्रतिक्रिया