चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरले तितेपाती मिसाएर ह्याण्ड स्यानिटाइजर उत्पादन गरेको छ । विश्वविद्यालयले बनाएको स्यानिटाइजर कृषक एवं कृषि उत्पादन ओसारपसार गर्नेलाई वितरण गरिने छ ।

विश्वविद्यालयको जैविक प्रविधि केन्द्रद्वारा ह्याण्ड स्यानिटाइजर उत्पादन गरिएको हो । केन्द्रका निर्देशक डा ईश्वरीप्रसाद कडरियाका अनुसार ह्याण्ड स्यानिटाइजरमा तितेपातीको तेल शून्य दशमलव १२ प्रतिशत, इथानल ८० प्रतिशत, ग्लिसिरल एक दशमलव पाँच प्रतिशत, हाइड्रोजन पेरोक्साइड शून्य दशमलव १२५ प्रतिशलाई निर्मलीकरण गरिएको पानीसँग मिश्रण गरेर तयार गरिएको हो ।

विश्वविद्यालयका जीव रसायनशास्त्री उपप्रध्यापक सरोज सापकोटाको प्रत्यक्ष निगरानीमा स्यानिटाइजर निर्माण गरिएको कडरियाले जानकारी दिए ।

सापकोटाले नेपालमा पाइने तितेपातीको मोलिक्युलर एन्ड बायोकेमिकल प्रोपर्टीजमा विद्यावारिधि गर्दै हुनुहुन्छ । पहिलो चरणमा १८० लिटर तयार गरिएको स्यानिटाइजरलाई २०० एमएलको बोटलमा प्याकिङ गरिएको छ । एक व्यक्तिलाई २०० देखि ६०० एमएलसम्म दिइने कडरियाले जानकारी दिए ।

रसायनशास्त्री सापकोटाले बजारमा रासायनिक पदार्थको अभाव रहेको र आफूहरु थप रासायनिक पदार्थ खोजिरहेको भन्दै पर्याप्त हुनासाथ ठूलो परिमाणमा ह्याण्ड स्यानिटाइजर उत्पादन गरी निरन्तररूपमा वितरण गर्ने बताए ।

भरतपुर महानगरपालिका आसपासका कृषक एवं कृषि वस्तु बिक्रेतालाई प्राथमिकता दिएर स्यानिटाइजर वितरण गरिने जनाइएको छ । अनुसन्धान तथा प्रसार निर्देशनालयको आर्थिक एवं प्र्राविधिक सहयोगमा स्यानिटाइजर निर्माण गरिएको हो ।

मास्क, पञ्जा, स्यानिटाइजरजस्ता सामान्य आधारभूत वस्तु प्रयोग गर्न नपाई कोरोना भाइरसको सङ्क्रमणको जोखिममा पनि कृषि उत्पादन घरघरमा पु¥याइरहेका कृषक एवं कृषि उत्पादकले यसको प्रत्यक्ष लाभ लिने छन् ।

तपाईको प्रतिक्रिया