
चितवन । नेपाल प्रेस युनियन चितवनले तीन लाख रुपैयाँको पत्रकार राहत कोष स्थापना गरेको छ । कोरोना महामारीलाई लक्षित गरी आन्तरिक स्रोतबाट रकम व्यवस्थापन गरेर आज दिउँसो बसेको ‘अनलाइन बैठक’ ले सो कोष स्थापनाको निर्णय गरेको हो ।
युनियनका जिल्ला अध्यक्ष अनिल ढकालको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरिएको छ । कार्यदलमा निवर्तमान अध्यक्ष नारायण अधिकारी, केन्द्रीय सदस्य तथा पूर्वअध्यक्ष वसन्त पराजुली रहेका छन् ।
बैठकले पत्रकार सहयोग समिति गठन गरेको छ । कार्यसमिति सदस्य राजु चौधरीको संयोजकत्वमा सदस्य सुशील पन्त, हरि पौडेल रहेको समिति गठन भएको छ । कोषाध्यक्ष विप्लव काफ्लेको संयोजकत्वमा तीन सदस्यीय राहत कोष अभिवृद्धि समितिसमेत गठन गरिएको छ ।
बैठकले अतिआवश्यक परेमा मात्र फिल्डमा सरक्षित भएर जान पत्रकारलाई अनुरोध गरेको छ । जिल्लामा कोरोना सङ्क्रमण देखिइसकेको भन्दै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरिएको छ ।
कार्यक्षेत्रमा जाने पत्रकारलाई सञ्चारगृहले आवश्यक सुरक्षाका सामग्री उपलब्ध गराइदिन, पारिश्रमिक समयमा दिन र ढुक्कसँग समाचार सम्प्रेषणको वातावरण बनाइदिन स्थानीय प्रशासनसँग बैठकले माग गरेको छ ।