चितवन । चितवनको इच्छाकामना गाउँपालिकाका सीमान्तकृत चेपाङ तथा अतिविपन्न परिवारलाई सोमबार राहत वितरण गरिएको छ ।
सौराहामा रहेको सपना भिलेज सोसल इम्प्याक्टले वडा नं–१ र २ का ४२२ परिवारलाई राहत वितरण गरेको हो ।
गाउँपालिकाकी अध्यक्ष गीता गुरुङको लिखित आग्रहमा सीमान्तकृत चेपाङ तथा अतिविपन्न परिवारलाई राहत प्रदान गरेको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । इम्प्याक्टले प्रतिपरिवार १० किलो चामल, १ किलो दाल, १ किलो नुन र एक लिटर तेल प्रदान गरेको हो ।
सोमबार गाउँपालिकाकी अध्यक्ष गुरुङलगायत जनप्रतिनिधिको रोहबरमा राहत सामग्री हस्तान्तरण गरिएको इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिए ।
सामाजिक सेवामा क्रियाशील इम्प्याक्टले यसअघि इच्छाकामनामा हात धुने साबुन र रत्ननगरका विभिन्न वडाका अतिविपन्न परिवारलाई राहत वितरण गरेको थियो ।












