–नारायण अधिकारी
चितवन । कोभिड–१९ को त्रासका कारण जिल्लामा लगाइएको तरकारी उठ्न छाडेको छ । तरकारी खेती गरेका किसानले खेतबाट तरकारी बिक्री हुन छाडेपछि जोतेर नष्ट गर्न थालेका छन् ।

लकडाउन सुरु भएयता केही मात्रामा तरकारी बिक्री भएको भए पनि जिल्लामा सङ्क्रमित भेटिएपछि किसानको बारीबाट तरकारी उठ्न छाडेको कृषकको गुनासो छ । पूर्वी चितवनको राप्ती नगरपालिकामा रहेको जनजागृत हरियाली ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्ष धर्म कँडेलले कोरोनाको सङ्क्रमण देखिएपछि तरकारी लिनका लागि व्यवसायीहरु आउन छाडेको बताए ।

सो सहकारीबाट तीन सय किसानले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । तरकारीको बजार काठमाडौँ बुटवल र पोखरा भए पनि अहिले व्यवसायीहरु तरकारी खरिदका लागि नआउँदा किसानले लगाएको तरकारी बारीमा नै सड्ने अवस्था आएको उनको भनाइ छ । उत्पादित तरकारीमध्ये केही काठमाडौँको कालीमाटी पठाइएको भए पनि बिक्री हुन छाडेको उनले जानकारी दिए ।

यस्तै, पश्चिम चितवनका कृषकले लगाएको तरकारी पनि बारीबाट उठ्न सकेको छैन । केरुङ्गा ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी सङ्घका अध्यक्ष जनकराज पुरीले तरकारी बिक्री हुन छाडेपछि किसानले तरकारी भएको बारी नै जोताउन थालेको बताए । यस क्षेत्रमा चार सयभन्दा बढी किसानले व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । सहकारीले मात्रै ६२ बिगाह क्षेत्रफलमा सामूहिक तरकारी खेती गरेको छ ।

तरकारी उत्पादन भए पनि बजारको अभाव हुँदा र तरकारी खरिद गर्ने व्यवसायी नआउँदा समस्या भएको उनले बताए । उनले भने, “तरकारी उत्पादन हुने मुख्य समयमा उत्पादित तरकारी बिक्री नहुँदा चिन्ता बढेको छ ।”

कृषकले लागत मूल्यसमेत नराखी बिक्री गर्दा पनि तरकारी बिक्री हुन नसकेको उनको भनाइ छ । अहिले तरकारी खेती गर्ने किसान दयनीय अवस्थामा पुगेको उनले बताए ।

उनले भने, “कोरोना भाइरसका कारण कृषक पनि त्रसित र व्यवसायी पनि त्रसित हुँदा तरकारी बारीबाट उठ्न सकेन ।” उनले थपे, “कृषक आफैँले साइकलमा बेचेको छ । गाउँगाउँ पु¥याएको छ तर बिक्री हुन सकेको छैन ।”

जिल्ला ताज तरकारी तथा फलफूल उत्पादक सहकारी सङ्घका अध्यक्ष हरि थापाले बजार सञ्चालन नहुँदा तरकारी बिक्री गर्न नसकिएको बताए । अहिले तरकारीको उत्पादन बढ्नु र खपत कम हुनुले किसान समस्यामा परेको उनको भनाइ छ । उनले भने, “तरकारी किनेर खानेले सुरक्षित साथ किनेको छ । जग्गा हुनेले बारीमा तरकारी उत्पादन गर्न थाल्यो । अनि कृषकको तरकारी बिक्री हुन छाड्यो ।” राज्यले तरकारी बजार र अन्य अत्यावश्यक वस्तुका बजारहरु सञ्चालन गर्नुपर्ने थापाले बताए ।

संस्थाका सचिव रामचन्द्र रेग्मीले गण्डकी प्रदेशमा चितवनको तरकारी बन्देज नै लगाइएको बताए । कोरोना सङ्क्रमण देखिएपछि मुग्लिनबाट नै पोखरातर्फ तरकारी जान छाडेको उनले जानकारी दिए । नबिकेपछि कृषकले बोडी, घिरौँला र भेँडे खुर्सानी जोत्न थालेका छन् ।

कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लामा सात हजार ५० हेक्टर क्षेत्रफलमा व्यावसायिक तरकारी खेती हुँदै आएको छ । अहिले तरकारी उत्पादनका लागि राम्रो समय भएको कार्यालयका प्रमुख राजन ढकालले बताए ।

जिल्लामा वार्षिक ९१ हजार मेट्रिक टन तरकारी उत्पादन हुँदै आएको छ । अहिले कोरोनाको सङ्क्रमणका कारण सरकारले लकडाउन गरेसँगै तरकारी खेती गरेका किसानको बारीमा तरकारी खेरा जान थालेको उनले बताए । कोरोना सङ्क्रमण देखिएपछि अझै समस्या बढेको उनको भनाइ छ । उनले भने, “तरकारी बोकेका सवारीलाई सरकारले आवागमनमा असहज बनाएको छैन तर तरकारी व्यवसाय गर्ने व्यवसायी खरीदका लागि आउन नसक्दा समस्या भयो ।”

जिल्लामा काउली, बन्दा गोलभेँडा, गाजर, मूला, हरियो साग, काँक्रो, लहरे तरकारी लगायतका तरकारी लगाइँदै आएको छ । लकडाउनका कारण सबै घरमा बस्ने भएकाले आफ्नो बारी हुनेले आफैँ तरकारी उत्पादन गर्न थालेको उनको भनाइ छ । अहिले तरकारीको बीउ लिन आउनेको सङ्ख्या बढेको उनले बताए ।

फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घ चितवनका अध्यक्ष मदन सापकोटाले कोरोनासँगै लकडाउनका कारण तरकारी नबिकेको बताए । जिल्लामा बिक्री गर्न नदिए पनि भारतीय बजारबाट भने तरकारी आइरहेको उनको भनाइ छ ।

गत साता पूर्वी चितवनको राप्ती नगरपालिकाका एकै परिवारका आमाछोरामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु अहिले भरतपुर अस्पतालको आइसोलेसनमा रहेका छन् । रासस

तपाईको प्रतिक्रिया