चितवन । लायन्स क्लब अफ इन्टरनेसनल तीन सय २५ वी २ को सहयोगमा भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा स्वचालित स्यानिटाइजिङ मेसिन जडान गरेको छ । भरतपुर महानगरको अगुवाइ र भरतपुर अस्पतालको व्यवस्थापनमा सञ्चालन भइरहेको सो अस्पतालमा बिरामी, चिकित्सक, स्वास्थ्यकर्मी सोही मेसिनबाट छिरेर जाने व्यवस्था मिलाइएको छ ।

क्लबले रु दुई लाखको लागतमा अस्पतालमा स्यानिटाइजिङ मेसिन जडान गरेको भाइस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले जानकारी दिए । मेसिनसँगै एक हजार लिटर सानिजोलसमेत उपलब्ध गराइएको छ ।

सो मेसिन आजै एक कार्यक्रमबीच अस्पताललाई हस्तान्तरण गरिएको छ । प्रदेशसभा सदस्य विजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीको उपस्थितिमा सो मेसिन अस्पताललाई हस्तान्तरण गरिएको हो ।

मेसिन हस्तान्तरण गर्दै क्लबका भाइस डिष्ट्रिक्ट गभर्नर भट्टले संकटको समयमा क्लब पनि सँगै छ भन्ने उद्देश्यले यो मेशिन जडान गरिएको बताए ।

हस्तान्तरण समारोहमा बोल्दै प्रदेशसभा सदस्य विजय सुवेदीले अबको समयमा शरीर सुरक्षित राख्नका लागि पनि यो आवश्यक रहेको बताए । यसको प्रयोगले बिरामी, चिकित्सक दुवैले सुरक्षित महसुस गर्ने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया