उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केको एक मस्जिद आसपासका क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९) का ११ जना सङ्क्रमित देखिएसँगै सो स्थानमा लकडाउन कडा पारिएको छ ।

प्रदेश नं १ अन्तर्गत उदयपुरको भुल्केको एक मस्जिद आसपासको क्षेत्रमा मंगलबार बेलुकी १० जना र बुधबार एक जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएसँगै यस क्षेत्रमा लकडाउनलाई अझ कडा पारिएको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

त्रियुगा नगरपालिकाको ३ नं वडालाई पूर्ण रुपमा सिल गरी त्यहाँका सम्पूर्ण नागरिकको आवातजावतलाई ठप्प गरी आवश्यक सामग्री जनप्रतिनिधिको सहयोगमा प्रहरीले उपलव्ध गराइएको छ ।

त्यहाँका सर्वसाधारण नागरिकले पनि बन्दाबन्दीलाई पूर्ण पालना गर्दै घरभित्र बसेर पूर्ण सहयोग गरिरहेकोे प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उक्त क्षेत्रमा बस्ने मुस्लिम समुदायका ५२ घरपरिवार र अन्य समुदायका थ्रोट स्वाब नमुना परीक्षण (पिसीआर) गर्ने कार्य द्रूत गतिमा भइरहेको प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

थ्रोट स्वाब लिएको नमुनाको (पिसीआर) परीक्षण विराटनगरको कोशी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा भइरहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमित देखिएका १० जनालाई मंगलबार नै र एक जनालाई आज उपचारका लागि विराटनगर–१० स्थित कोशी अस्पताल (कोभिड–१९) उपचार केन्द्रमा ल्याउने सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा सुरेश मेहताले जानकारी दिए । उपचार केन्द्रमा राखिएका सङ्क्रमित सबैको अवस्थामा सामान्य रहेको उनको भनाइ छ ।

यसअघि भुल्केको नुरी मस्जिदमा बसेका १२ जना (११ भारतीय र एक नेपाली) जमातीमा वैशाख ५ गते कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । त्यसको भोलिपल्ट त्यही समूहका एक नेपाली जमातीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । लगत्तै त्यो क्षेत्रलाई सिल गरेर उनीहरुको सम्पर्कमा आएका २६० जनाको नमुना सङ्कलन गरिएको थियो ।

कोभिड–१९ पोजेटिभ देखिएका सबैको उपचारका लागि विराटनगरस्थित कोरोना उपचार केन्द्रमा ल्याइएको मुख्यमन्त्री कार्यालय विराटनगरमा रहेको कोरोना सूचना डेस्कले जनाएको थियो । उदयपुर जिल्लामा प्रहरीले बन्दाबन्दीको पूर्ण पालना गराइनुका साथै अति आवश्यक सामग्री खरिद गर्न केही छूट दिएको जनाएको छ । रासस

तपाईको प्रतिक्रिया