—नारायण अधिकारी
चितवन । गतवर्ष यतिबेला भरतपुर अस्पतालमा दैनिक दुई हजार हाराहारी बिरामी बहिरङ्ग सेवामा उपचारका लागि आउँथे । यस वर्ष लकडाउनसँगै बहिरङ्ग सेवा (ओपिडी) बन्द भएपछि उपचारका लागि आएका बिरामी फर्कन बाध्य भएका छन् ।

सामान्य समस्या भएका र पहुँच पुर्‍याउनेहरु टेलिफोन संवाद र निजीमा चिकित्सक भेट्ने गरेको भए पनि गरिब असाहयहरुले त्यो सुविधा पाउन सकेका छैनन् । अस्पतालसम्म आउन नै आफूसँग भएको रकम सकिने बिरामी सरकारी अस्पताल आउने गर्दछन् । अलिअलि बचेको रकम पनि निजीमा जानुपर्ने भएपछि औषधि किन्नसमेत उनीहरुले पाएका छैनन् ।

पहिले भरतपुर अस्पतालमा शल्यक्रिया गरेकामा समस्या भएपछि भरतपुर अस्पताल गएकी गोर्खाकी सरस्वतीअधिकारीले उपचार नपाएर फर्कनुपरेको बताइन् । बिमा पनि भएको र उपचार सस्तो हुने भएपछि भरतपुर अस्पताल गए पनि यहाँ हुँदैन अहिले भनेपछि फर्किएको उनको भनाइ छ । सरकारी अस्पतालबाट फर्किएका बिरामी निजी मेडिकल कलेज र निजी अस्पतालमा बहिरङ्ग सेवामा जान बाध्य भएका छन् ।

अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी सबै अस्पतालमा हुन्छन् । उनीहरु चिया पिएर समय बिताउँछन् तर बिरामी उपचार नपाएर फर्किरहेका छन् । यही मौकामा निजीले बहिरङ्ग सेवा सञ्चालन गरेका छन् ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारी हाल आकस्मिक कक्ष र ज्वरो क्लिनिकमात्र सञ्चालन भएको बताए । बल्लतल्ल सवारी खोजेर आएका बिरामी अस्पताल आएर पुनः फर्कनुपर्दा पीडा भएको उनले बताए । भरतपुर अस्पतालले सबै चिकित्सकको नम्बर सार्वजनिक गरेको छ । ती अधिकांश चिकित्सकको निजी अस्पताल र क्लिनिक छन् । उनीहरुले बिरामीलाई त्यहीँ बोलाउने गरेका छन् ।

तिवारी बिरामी फर्किएको स्वीकार्दै भीडभाड हुने भएकाले बहिरङ्ग सेवा सञ्चालन नगरिएको बताए । कसरी व्यवस्थित ढङ्गबाट सञ्चालन गर्न सकिन्छ भन्नेबारेमा छलफल गरेर छिटो निर्णय लिने उनको भनाइ छ ।

भरतपुर अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामीले सेवा पाउने गरेका छन् । कोरोना सङ्क्रमणको उपचारका लागि भरतपुर महानगरपालिकाले स्थापना गरेको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताल पनि भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ ।

नेपाल सरकारले लेवल एक अर्थात् साधारण लक्षण भएका बिरामी राख्न सोही अस्पताललाई तोकेको छ । लेवल दुई अर्थात् मध्यम र जटिललाई भरतपुर अस्पताल र कडा भएकालाई, त्रिवि शिक्षण अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान तोकेको मेडिकल सुपरिटेण्डेन्ट तिवारीले बताए ।

कोरोना सङ्क्रमित तर लक्षण नभएका बिरामीलाई कोरोना अस्पतालमा नराखेर भरतपुर अस्पतालमा राखिएको छ । यस कार्यको त्यही कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले चर्को विरोध गरिरहेका छन् ।

निजी अस्पतालमा बिरामी पठाउनका लागि सरकारी दुवै अस्पतालमा कोरोनाका बिरामी राखिएको आरोप लाग्ने गरेको छ । नेपाली काँग्रेस चितवनका सचिव उत्तम जोशीले सरकारी दुवै अस्पतालमा कोरोनाका बिरामी राखेर बहिरङ्ग विभागसमेत बन्द गरेर निजीसँग सरकारी अस्पतालको व्यवस्थापन मिलेको आरोप लगाए । तत्काल कोरोनाका बिरामी कोरोना अस्पतालमा राखेर भरतपुर अस्पतालबाट सर्वसाधारण जनतालाई सुरक्षित उपचार दिनुपर्ने उनको भनाइ छ ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले केन्द्रको निर्देशनानुसार बहिरङ्ग सेवा बन्द भएको भन्दै लकडाउन खुलेपछि स्वतः सुरु हुने बताए । उनले हाल अस्पतालमा कोरोना सङ्क्रमण भएका बिरामीले कोरोना अस्पतालमा बस्न नमानेपछि भरतपुर अस्पतालमा ल्याउन बाध्य भएको बताए । कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारेमा छलफल भइरहेको उनको भनाइ छ ।

यस अस्पतालले वार्षिकरूपमा तीन लाखभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको छ । अस्पतालमा हरेक वर्ष १४ हजार हाराहारीले प्र्रसूति गराउने गर्दछन् । प्रसूतिगृहपछिको सबैभन्दा बढी सुत्केरी गराउने अस्पताल भरतपुर अस्पताल हो । यो ६०० श्ययाको केन्द्रीय अस्पताल हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले सरकारी अस्पतालले आएका बिरामीलाई फर्काउन नहुने बताए । भीडभाड नगरी बिरामीलाई सेवा दिनुपर्ने उनको भनाइ छ । रासस

तपाईको प्रतिक्रिया