काठमाडौँ । नेपालमा बुधबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससहित कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ४७ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा आज थप दुई व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
मन्त्रालयका अनुसार उदयपुरका ५५ वर्षीय महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।
त्यसैगरी हालसम्म कोराना भाइरसबाट निको हुनेको सङ्ख्या नौ पुगेको छ ।
केही दिनअगाडि काठमाडौँको पेप्सीकोलास्थित सनसीटी अपार्टमेन्टमा देखिएको कोरोना सङ्क्रमित दुवै व्यक्ति निको भई आज डिस्चार्ज भए । पाटन अस्पतालमा उपचाररत ५८ वर्षीय पुरुष र ८१ वर्षीय महिला निको भई घर फर्किएका हुन् ।
कोरोना भाइरसको रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) र र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) गरी दुवै विधिबाट हालसम्म ४३ हजार ७२२ जनामा परीक्षण गरिएको छ । जसमा पिसिआर नौ हजार १९९ र आरडिटी ३४ हजार ५२३ मा परीक्षण गरिएको मन्त्रालयले जनाएको हो ।
क्वारेन्टाइनमा बस्नेको सङ्ख्या १० हजार ५७१ छ । अहिलेसम्म आइसोलेसनमा ८६ जनाले उपचार गराइरहेका छन् । तीमध्ये काठमाडौँ उपत्यकामा चार छन् भने उपत्यका बाहिर ८२ जना रहेका छन् । रेड जोनमा हालसम्म २७८ जना रहेका छन् ।
मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार उपचाररत कोरोना सङ्क्रमित व्यक्ति सबैको स्वास्थ्यस्थिति सामान्य रहेको छ । त्यसैगरी राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा सन्तोष पौडेलले आफ्नो अस्पतालले अत्यावश्यक सेवा र ओपीडी सेवालाई निरन्तरता दिइएको बताए । उनले स्वास्थ्यकर्मीको सुरक्षाका लागि पिपिईको व्यवस्था गरी उपचारमा खटिएको बताए ।
उनका अनुसार अस्पतालले अनलाइन र फोनका माध्यमबाट पनि बिरामीको स्थिति बुझ्ने गरेको बताए । जो कसैलाई पनि समस्या परेमा अस्पतालको फोन नम्बर ०१४२२५२७५ र ९८४०८८३०५५ मा सम्पर्क गरी जानकारी लिन सकिने अस्पतालका प्रमुख पोडेलको भनाइ छ । रासस














