
– शरद शर्मा
काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिम क्षेत्रलाई बन्द (सिल) गरेर परीक्षण गर्ने नीति अबलम्बन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणको जोखिम देखिएको अवस्थामा सिल गरेर परीक्षण गर्ने भएको हो ।
मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले अहिले प्रदेश नं १ र २ मा जोखिम बढेकाले ती क्षेत्रका सङ्क्रमित ठाउँ र अन्य सङ्क्रमित ठाउँलाई सिल गरेर कोरोना भाइरसको परीक्षणको दायरा बढाउने जानकारी दिए ।
पछिल्लोपटक उदयपुरमा २८ जनामा कोभिड सङ्क्रमण देखिएको छ । उदयपुरमा त्रियुगा नगरपालिकाको भुल्केमा मन्त्रालयले परीक्षणको दायरा बढाउन विशेष अभियानको सुरुवात गरेको छ ।
“ती प्रदेशका कुन कुन क्षेत्र जोखिममा रहेका छन् । त्यसको पहिचान गर्नका लागि टोली पठाएका छौँ”, उनले भने, “ती टोलीले कुन–कुन क्षेत्रमा बढी जोखिम छ त्यसको निक्यौल गर्ने छन् । अनि ती ठाउँमा परीक्षण गर्ने छौँ ।’’
उनका अनुसार जोखिम ठाउँमा र विदेशबाट आएका सबैको पोलिमरेज चेन रियाक्सन (पिसिआर) मेसिनबाट परीक्षण गरिने छ ।
मन्त्रालयले ठूलो सङ्ख्यामा (मास) मा पनि परीक्षण गर्ने तयारी गरेको छ । मासको परीक्षण गर्नका लागि स्थानीय र प्रदेश सरकारले निर्देशन दिइसकेको छ ।
“प्रदेश र स्थानीय तहले यहाँ धेरै मानिस बसेको छन् तिनीहरुको गर्नुपर्छ भनेपछि हामीले गर्छौं”, सचिव कोइरालाले भने, ‘‘धेरै मानिस बसेको ठाउँमा, क्वारेन्टाइन, विदेशबाट आएका मानिस बसका ठाउँमा मास परीक्षण आवश्यकताका आधारमा गरिने छ ।’’
उदयपुरमा दुई टोली
उदयपुरमा सङ्क्रमितको सङ्ख्या बढेपछि सरकारले सतर्कता अपनाएको छ । उदयपुरको त्रियुगानगरपालिकास्थित भुल्केमा रहेको मस्जिदमा सङ्क्रमित देखिएपछि मन्त्रालयले दुई टोली पठाएको मन्त्रालयका सचिव कोइरालाले जानकारी दिए । उनका अनुसार एकवटा उदयपुर जिल्लाबाट र अर्को केन्द्रबाट पाँचजनाको टोली बिहीबार त्यसतर्फ गइसकेका छन् ।
“टोलीले त्यहाँ गएपछि कस–कसको स्वाब लिनुपर्ने हो त्यसको पहिचान गर्ने छ”, उनले थपे, “कसकसको परीक्षण गर्नुपर्छ त्यो हेरेर पिसिआर विधिबाट परीक्षण गर्ने छौँ ।”
उनले एकबाट अर्कोमा भर्खर सङ्क्रमण सरेकाले पिसिआर विधिबाट मात्र परीक्षण गरिने बताए । सङ्क्रमित भए वा नभएको पत्ता लागेपछि त्यही राखेर वा कता राखेर गर्ने भन्ने निक्योल गर्ने उनले जानकारी गराए ।
टोलीले उदयपुरमा देखिएका सङ्क्रमित कुन ठाउँबाट आएका हुन, को कोसँग भेट ती सबैको कन्ट्र्याक ट्रेसिरसमेत गरेर परीक्षण गर्नेछन् । रासस