काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित एक व्यक्ति थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थ्रोट स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएको हो । उनको आइसोलेसनमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जनाएका छन् ।
नेपालमा योसहित कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । जसमा १० जना निको भई घर फर्किएका छन् ।
यसैबीच, सरकारले कोरोना भाइरस (कोभिड–१९) को जोखिम क्षेत्रलाई बन्द (सिल) गरेर परीक्षण गर्ने नीति अबलम्बन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणको जोखिम देखिएको अवस्थामा सिल गरेर परीक्षण गर्ने भएको हो ।
मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले अहिले प्रदेश नं १ र २ मा जोखिम बढेकाले ती क्षेत्रका सङ्क्रमित ठाउँ र अन्य सङ्क्रमित ठाउँलाई सिल गरेर कोरोना भाइरसको परीक्षणको दायरा बढाउने जानकारी दिए ।
पछिल्लोपटक उदयपुरमा २८ जनामा कोभिड सङ्क्रमण देखिएको छ । उदयपुरमा त्रियुगा नगरपालिकाको भुल्केमा मन्त्रालयले परीक्षणको दायरा बढाउन विशेष अभियानको सुरुवात गरेको छ ।
“ती प्रदेशका कुन कुन क्षेत्र जोखिममा रहेका छन् । त्यसको पहिचान गर्नका लागि टोली पठाएका छौँ”, उनले भने, “ती टोलीले कुन–कुन क्षेत्रमा बढी जोखिम छ त्यसको निक्यौल गर्ने छन् । अनि ती ठाउँमा परीक्षण गर्ने छौँ ।’’
उनका अनुसार जोखिम ठाउँमा र विदेशबाट आएका सबैको पोलिमरेज चेन रियाक्सन (पिसिआर) मेसिनबाट परीक्षण गरिने छ ।
मन्त्रालयले ठूलो सङ्ख्यामा (मास) मा पनि परीक्षण गर्ने तयारी गरेको छ । मासको परीक्षण गर्नका लागि स्थानीय र प्रदेश सरकारले निर्देशन दिइसकेको छ ।












