बुटवल । कोभिड–१९ संक्रमणको नियन्त्रण तथा रोकथाम र उपचारका लागि नेपाली सेना तयारी अवस्थामा रहेको छ । सेनाको प्रदेश नं ५ मा रहेको मध्यपश्चिम पृतना हेडक्वार्टर बुटवलले यसको नियन्त्रण तथा रोकथाम र उपचारका लागि क्वारेन्टाइन, आइसोलेसन र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखेको छ ।

मध्यपश्चिम हेडक्वार्टरका प्रमुख उपरथी सीताराम खड्काले प्रदेशका सबै ब्यारेकमा कुल ४५३ शय्याको क्वारेन्टाइन, १०० शय्याको आइसोलेसन वार्ड, हेल्थ डेस्क, ‘रेपिड रेस्पोन्ट’ टिम र ‘पेसेन्ट रिसिभिङ’ टिमलाई तयारी अवस्थामा राखिएको जानकारी दिए ।

प्रदेशको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा आठ, प्रदेश सीमामा तीन र जिल्लामा पाँच हेल्थ डेसक स्थापना गरेको मध्यपश्चिम पृतना हेडक्वाटरको सूचना शाखाले जनाएको छ । सेनाले प्रदेशभरि १२१ आफ्ना स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा राखिएको जनाएको छ ।

बन्दाबन्दीको कार्यान्वयन गराउनका लागिसमेत नेपाली सेनाले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसँगको सहकार्यमा नियमित गस्तीलाई तीव्र बनाएको छ । सेनाले प्रदेशका सबै जिल्लामा औसत २० पैदल गस्ती र ११५ मोटर गस्ती गरिरहेको मध्यपश्चिम पृतना हेडक्वार्टरका प्रमुख उपरथी खड्काले जानकारी दिए ।

कोरोना भाइरसको महामारीको अवस्थामा आए थप क्वारेन्टाइन र आइसोलेसन स्थापना गर्ने स्थानको पहिचान तथा सेनाको प्राविधिक टोलीलाई छोटोछरितो उपचारमा खटिने तालिमको व्यवस्थासमेत गरिएको बताइएको छ ।

नेपाली सेनाले सबै प्रदेश र राजधानीमा गरी चार हजार ६२१ शय्याको क्वारेन्टाइन, ५९२ शय्याको आइसोलेसन वार्ड निर्माण तथा विशेष तालिमप्राप्त प्राविधिक र स्वास्थ्यकर्मी पाँच हजार ३०८ खटाएको सैनिक मुख्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया