अजित अधिकारी
वीरगञ्ज । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ अर्थात कोरोना भाइरसको कारण यतिबेला विश्व सन्त्रासमा रहेको अवस्थामा यस घातक रोगबाट बच्न सरकारले लकडाउनको व्यवस्था गरिरहेको छ । यसको एकमात्र वैकल्पिक उपाय भनेको लकडाउन रहेकाले सरकारले सबैमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

यता लकडाउनको समयमा भारतबाट खुलेयाम तरकारी र फलफूलहरु भित्रिन थालेपछि नेपाली कृषकहरु मारमा परेका छन् । भारतबाट प्रहरीसँगको मिलेमतोमा रातारात उच्च विषादी प्रयोग गरेको भारतीय तरकारी तथा फलफूलहरु गाडीमा लोडगरी नेपाल प्रवेश गर्ने गरेका छन् ।

भारतीय नाकामा ‘सेटिङ’ गरेर तरकारीका गाडी छिराउने गरेको स्रोतले जनाएको छ । यसले गर्दा नेपाली किसानको ढाड सेकिएको छ ।

केन्द्रदेखि प्रदेश सरकार र स्थानीय तहलेसमेत कृषि उत्पादनलाई व्यवस्थित गरी उपभोक्ताको माझमा पुर्‍याउन नसक्दा किसानहरु मारमा परेका हुन् ।

उपभोक्ताले नेपालमै उत्पादित तरकारीलगायत कृषि उपजलाई प्राथमिकता दिने गरेका भए पनि तीनै तहका सरकारले लकडाउनको समयमा उत्पादिन बस्तु बिक्रीको लागि संवेदनशील नबन्दा नेपाली किसानले निकै ठूलो नोक्सानी व्यहोर्नु परेको अवस्था देखिएको छ ।

बारा, पर्साका किसानहरु आफूले उत्पादन गरेको तरकारी बिक्री गर्न नपाउँदा कुहाएर फाल्नु परेको अवस्थामा यता भारतबाट निर्वाधरुपमा तरकारी तथा फलफूल भित्रिँदा आफूहरु मारमा परेको बारा फेटाका तरकारी कृषक प्रमोद कुसवाहले बताए ।

विगत केही दिनयता भारतबाट वीरगञ्जमा फलफूल बिक्री गर्न आउनेहरुले फलफूलको टोकरीभित्र रजनीगन्धा, पानपराग, तुलसीलगायतका सुर्तीजन्य पदार्थहरुसमेत लुकाएर ल्याउने गरेको र महँगो मूल्यमा स्थानीय उपभोक्तालाई बिक्री गर्ने गरे पनि प्रहरी प्रशासनको ध्यान केन्द्रित नभएको उपभोक्ताहरुले गुनासो गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया