चितवन । चितवनका दुईजना पत्रकारलाई सोमबार बिहान प्रहरीले रिपोर्टिङस्थलबाट गिरफ्तार गरेको भन्दै मानवधिकारवादी संघसंस्थाले गम्भीर ध्यानाकर्षण जनाएका छन्।
कोरोना भाइरसको जोखिममा सबैभन्दा अग्रभागमा रहेर स्वास्थ्यकर्मीले काम गरिरहेको अवस्थामा त्यसपछिको जोखिममा रहेर सुरक्षाकर्मी र पत्रकारले काम गरिरहेको खण्डमा सबै मिलेर जोखिम न्यूनीकरण गर्नुपर्ने समयमा पत्रकारमाथि दमन गरेको भन्दै मानवअधिकारवादी विभिन्न संघसंस्थाले आज विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।
‘महामारी सामना गर्न अग्रभागमा रहेर चिकित्साकर्मीहरूले अतुलनीय योगदान गरेका छन्। उनीहरूको काम प्रसंसनीय छ। संकटको यो समयमा सुरक्षाकर्मी र संचारकर्मीहरुले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् भन्ने हाम्रो विश्वास छ। तर, आज चितवनमा कार्यरत क्रियाशील पत्रकारहरु विनोदबाबु रिजाल र अर्जुन अधिकारीलाई आफ्नो परिचयपत्रसहित समाचार संकलनका क्रममा सुरक्षाकर्मीबाट धरपकड र गिरफ्तारीसमेत गरिएको घटना सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यस्तो घटनाको हामी घोर निन्दा र विरोध गर्दछौं।’
ती संघसंस्थाले पत्रकारहरुलाई अवरोध गरेको खण्डमा जनताको सुसूचित हुन पाउने संविधानप्रदत्त अधिकारको हनन हुने र महामारीसँगको लडाइँ कमजोर हुन सक्ने स्थिति पैदा हुने भएकाले धरपकड र गिरफ्तारीका यस्ता घटना नदोहो¥याउन पनि सम्बन्धित निकायहरुसँग अनुरोध गरिएको छ। ‘स्थानीय निकाय, राजनीतिक पार्टी र अधिकारकर्मीहरुमा यस्ता घटना दोहोरिन नदिन उचित समन्वय र व्यवस्थापनमा पहलकदमीका लागि अपिल गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।
मानवअधिकार सञ्जाल, चितवन, काहुराष्ट्र नेपाल, मानवअधिकार तथा शान्ति समाज, नेपाल मानवअधिकार संगठन, मानवअधिकार संरक्षण मञ्च, मानवअधिकार सरोकार केन्द्र, नेपाल, नेपाल मानववादी संघ र ईन्सेक चितवनले संयुक्तरुपमा उक्त विज्ञप्ति जारी गरेका हुन्।
यसैगरी, परिचयपत्र लिएर सावधानीपूर्वक समाचार संकलन गरिरहेका पत्रकारहरूलाई दुर्व्यवहार गर्दै धरपकड गरिनु दुःखद भएको चितवन जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिले बताएको छ ।
समितिले सोमबार एक विज्ञप्ति जारी गरी कोभिड–१९ को महामारीका बीच पनि जनताको सुसूचित हुन पाउने अधिकारको सुनिश्चितता गर्न सञ्चारकर्ममा खटिएका पत्रकारलाई प्रहरीद्वारा गरिएको धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यस्तै, नेपाल पत्रकार महासंघ चितवन शाखा, नेपाल प्रेस संगठन र नेपाल प्रेस युनियन चितवनले सोमबार संयुक्त विज्ञप्ति जारी गरी पत्रकार दुर्व्यवहार र नियन्त्रणमा लिने प्रहरीलाई कारबाही गर्न माग गरेका छन् ।















