चितवन । मंगलबार भरतपुर महानगरले आधारभूत तह कक्षा ८ को नतिजा प्रकाशित गरेको छ । सैद्धान्तिक र प्रयोगात्मक गरी समष्टिमा प्रत्येक विषयमा डी प्लस ग्रेड स्तरभन्दा माथिल्लो स्तर कायम गर्ने विद्यार्थीहरू ९३.९१ प्रतिशत रहेका छन् ।
महानगरको शैक्षिक प्रशासन महाशाखाले उनीहरू कक्षा ९ मा भर्ना हुनयोग्य विद्यार्थी रहेको जनाएको छ । ५.३८ प्रतिशत विद्यार्थीको डी प्लस ग्रेडभन्दा तल्लो स्तर कायम भएकाले ग्रेड स्तर वृद्धिका लागि पूरक परीक्षा दिनुपर्ने भएको छ ।
डी प्लस ग्रेड स्तरभन्दा माथिल्लो ग्रेड ल्याउनेमा सामुदायिक विद्यालयका दुई हजार ७३७ जना र संस्थागत विद्यालयका तीन हजार ४९१ जना गरी जम्मा छ हजार २२८ विद्यार्थी रहेका छन् । डी प्लस ग्रेड स्तरभन्दा तल्लो स्तरको ग्रेड ल्याउनेमा सामुदायिकका ३४० जना र संस्थागतका १७ जना गरी जम्मा ३५७ जना विद्यार्थी रहेका छन् ।
परीक्षामा सामुदायिकतर्फका ३ हजार ७७ जना र संस्थागततर्फका तीन हजार ५०८ जना गरी जम्मा ६ हजार ५८५ विद्यार्थी सहभागी भएका थिए । सामुदायिकका ३५ जना र संस्थागतका १२ जना गरी ४७ जना विद्यार्थीहरू भने परीक्षामा सहभागी नै नभएको शैक्षिक महाशाखाका शाखा अधिकृत रुद्र शर्माले जानकारी दिए । परीक्षामा ७२ सामुदायिक र ८५ संस्थागत विद्यालयहरू सहभागी भएका थिए ।
विद्यार्थीहरूले भरतपुर महानगरको वेबसाइट www.bharatpurmun.gov.np मा गएर सिम्बोल नं टाइप गरी आफ्नो ग्रेड सिट हेर्न सक्ने उनले बताए । विद्यालयहरूले परीक्षा सफ्टवेयरमार्फत विस्तृत नतिजा पनि हेर्न सक्नेछन् ।












