-अजित अधिकारी
वीरगञ्ज । लकडाउनलाई पूर्णपालना गर्दै वीरगञ्जमा आजबाट कालिका कन्सट्रक्सन प्रालिले रोकिएका सडक निर्माण तथा ढलको विस्तार कार्यलाई सुचारु गरेको छ ।
आमनागरिक समाजको दबाब पछि सामाजिक दूरी कायम गर्दै वीरगञ्जमा रोकिएको सडक तथा ढलको निर्माण कार्य सुरु गरिएको कालिका कन्सट्रक्सन प्रालिका परियोजना प्रमुख ठाकुर ढकालले बताए ।
विकास निर्माणका काम सञ्चालन गर्न वीरगञ्ज महानगरपालिकाको निर्देशनबमोजिम स्थानीय प्रहरी प्रशासनको समन्वयमा काम सुरु गरिएको ढकालले जानकारी दिए । एसियाली विकास बैंक एडिबिको सहयोगमा मझौला सहरी विकास परियोजनाअन्तरगत झण्डै ५ अर्बको लागतमा विगत ४ वर्षदेखि वीरगञ्जमा ढलको निर्माण, सडक विस्तार, ल्याण्ड फिल्ड साइड निर्माणलगायतका कामहरु भइरहेका छन् ।
वीरगञ्ज महानगरपालिकाको विभिन्न क्षेत्रमा हुँदै आएको ढल तथा सडक विस्तार आयोजना लकडाउनको कारण झण्डै डेढ महिनादेखि अलपत्र हुँदा अब आउने वर्षायाममा वीरगञ्जमा नगरवासीले ठूलो सास्ती व्यहोर्नुपर्ने देखिएपछि नागरिक समाजले रोकिएको आयोजनाको काम तत्काल सुचारु गर्न दबाब दिएको थियो ।
दबाबपछि आजबाट कालिका कन्सट्रक्सनले वीरगञ्जको बाइपास सडकखण्डको बसपार्क नजिकैको सडक पिच गर्ने काम सुरु गरेको छ । एडिबि परियोजनाअन्तरगत वीरगञ्जको बाइपास सडकखण्ड, रेल्व रोड, घन्टाघर बसपार्क जोडने लिंक रोड, पिपरा बाइपास लिंक रोडको निर्माण कार्य भइरहेको छ ।
यसलाई वर्षाअघि नै सक्ने गरी लकडाउनको बेलामा समेत सामाजिक दूरी कायम गरी निर्माण कार्य अगाडि बढाइने कालिका कन्सट्रक्सनका परियोजना प्रमुख ढकालले बताए ।











