वीरगञ्ज । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमितको संख्या ५७ पुगेको छ । बुधबार एकैदिन तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणका क्रममा बाराका दुई र पर्साका एक जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेहरुमा जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय एक पुरुष, सिम्रौनगढका ३१ वर्षीय र वीरगञ्ज २, छपकैयाका ४६ वर्षीय पुरुष रहेका छन् । उनीहरु दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका बताइएको छ ।

यसअघि आइतबार पनि वीरगञ्‍जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूमध्ये वीरगञ्ज. १६ का एक जना दिल्लीको धार्मिक सभामा सहभागी भएका थिए । उनीहरूको प्रत्यक्ष सम्पर्कमा रहेकाहरूको खोजी गर्ने क्रममा छपकैयाका ४६ वर्षीय पुरुषलाई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएकोमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।

बारामा संक्रमित हुने व्यक्ति पनि ६ मार्चमा दिल्लीबाट ११ मार्चमा नेपाल फर्किएका थिए । नेपालमा १६ जना उपचारपश्चात् घर फर्किएका छन् भने हालसम्म ५४ हजार ८२६ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

सरकारले कोरोना भाइरस रोकथामका लागि चौंथोपटक थप गरी लकडाउनको अवधि वैशाख २५ सम्म लागू गरेको छ ।

तपाईको प्रतिक्रिया