काठमाडौँ । दर्ताविना सर्जिकल पसल सञ्चालन गरेको र बढी मूल्यमा मास्क र थर्मल गन बिक्री गरेको कसूरमा बुधबार आज एक सर्जिकल पसललाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको इमाडोलस्थित काठमाडौँ ट्रेडिङ प्रालिलाई सोवापत रु दुई लाख जरिवाना गरेको हो ।

सामाजिक सञ्जालमा मास्कलगायत सर्जिकल सामग्रीको बढी मूल्य राखेको गुनासाका आधारमा अनुगमन गर्दा बढी मूल्य लिएको र दर्ता नै नगरी व्यवसाय सञ्चालन गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाहीस्वरुप जरिवाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।

उनका अनुसार उक्त फर्मले रु चार हजार पाँच सयमा खरीद गरिएको थर्मल गनलाई रु आठ हजार र एन–९५ मास्कलाई बढी मूल्यमा बिक्री गरेको बयानका क्रममा बताएपछि जरिवाना गरिएको हो ।

विभागले लकडाउनयता (चैत ११ गतेदेखि वैशाख १७) गतेसम्म ९१ फर्मको अनुगमन गरेको र तीमध्ये अनुचित व्यापार गर्नेबाट जरिवानास्वरुप रु ४७ लाख ७५ हजार राजश्व संकलन गरिएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया