चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाले समाचारका विषयलाई लिएर पत्रकारमाथि धम्की दिइएको भन्दै त्यसप्रति ध्यानाकर्षण भएको जनाएको छ । महासंघले आज जारी गरेको विज्ञप्तिमा अनलाइन खबर डटकमका समाचारदाता सुवास पण्डितलाई समाचार लेखेकै कारण धम्की दिइएको जनाइएको छ ।चितवनमा रहेको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट स्वास्थ्य सामग्री शंकास्पदरूपमा बाहिरिएको र अस्पतालको खर्च प्रक्रियामा अनियमित भएको समाचार प्रकाशित भएपछि पण्डितलाई धम्की दिइएको विज्ञप्तिमा उल्लेख छ ।

अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी संघ र अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी संगठनले विज्ञप्ति जारी गरी समाचार लेख्ने व्यक्तिको पहिचान गरी आफैँले आवश्यक कारबाही गर्ने चेतावनीसहितको धम्की दिइएको जनाइएको छ ।

शाखा अध्यक्ष राधेश्याम खतिवडाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा धम्की दिने व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउन, घटनामा संलग्नमाथि कारबाही गर्न र पत्रकारको संवैधानिक अधिकारको ख्याल गरी पत्रकारको सुरक्षामा संवेदनशील बन्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको छ ।

नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले जारी गरेको विज्ञप्तिमा पत्रकार पण्डितमाथि धम्की दिने संस्थाका जिम्मेवार व्यक्तिमाथि कारबाहीको माग गरिएको छ ।

तपाईको प्रतिक्रिया