-महेश पाण्डे
चितवन । रत्ननगरको टाँडीचोकमा पैदलयात्रीका लागि आकाशेपुलको शिलान्यास गरिएको छ । रत्ननगर नगरपालिका र प्रदेश नं ३ सरकारको संयुक्त लगानीमा बन्ने आकाशेपुलको बिहीबार रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वनले शिलान्यास गरेका हुन् ।
शिलान्यास कार्यक्रमपछि नेपालीको आवाज डटकमसँग संक्षिप्त प्रतिक्रिया दिँदै नगर प्रमुख वनले रत्ननरको टाँडीचोक र सौराहाचोकमा आकाशेपुल बनाउने लक्ष्य लिएको भए पनि पहिलो चरणअन्तर्गत टाँडीचोकमा काम सुरु भएको जानकारी दिए । उनले उक्त आकाशे पुल बनेसँगै दुर्घटनामा कमी आउनेमा आफू विश्वस्त रहेको बताउँदै अझै ज्येष्ठ नागरिकलाई पनि पुलले अझ सुरक्षित बनाउने अपेक्षा व्यक्त गरे ।
नगरपालिकाकी उपप्रमुुख बिमला दुवाडीले हाल रत्ननगरमा जनघनत्व पनि बढेकाले आकाशेपुल निर्माणपछि दुर्घटनामा कमी आउने कुरामा कुनै शंका नरहेको बताइन् । उनले आकोशेपुलले रत्ननगरकै सौन्दर्यता पनि बढाउने बताइन् ।
प्रदेश नं ३ सरकारको एक करोड, रत्ननगर नगरपालिकाको एक करोड ४२ लाख रुपैयाँको लगानीमा उक्त पुलको निर्माण हुन लागेको नगरपालिकाका इन्जिनियर पंकज गिरीले नेपालीको आवाज डटकमलाई जानकारी दिए । उनले उक्त आकाशेपुल मेटल फ्रेममा प्रोटेबल ढंगबाट बन्न लागेको जानकारी दिँदै हाल पुलको लम्बाइ ४० मिटर, उचाइ साढे ५ मिटर र चौडाइ ३ मिटर फराकिलो हुने बताए ।
उनले उक्त पुलको वरिपरिको बिजुलीको तार र पोलको भूमिगत व्यवस्थापनको लागि ४० लाख रुपैयाँ छुट्याइएको जानकारी दिँदै पछि गएर बाटो विस्तार भएमा पनि पुल प्रोटेबल मेटल फ्रेममा बन्न लागेकाले कुनै फरक नपर्ने बताए ।
आगामी असार २४ गते सम्पन्न गर्ने गरी गत फागुुन २ गते भरतपुरको हिम सगरमाथा कन्स्ट्रक्सन प्रालिले उक्त पुल निर्माणको सम्झौता गरेको भएता पनि मंगलबारदेखिमात्र कम्पनीले काम सुरु गरेको हो । हाल मेटल फ्रेमको काम वर्कसपमा भैरहेकोले समय सीमाभित्रै कार्य सम्पन्न हुने इन्जिनियर गिरीले जानकारी दिए ।















