खाँदबारी । कोरोना भाइरसको महामारीका कारण विश्वनै मानवीय संकटमा रहेको बेला चोरी तस्करी गर्नेले यस्तै मौकालाई फाइदा उठाउन लागेको पाइएको छ । सरकारले कोरोना भाइरस सङ्क्रमण रोक्न लकडाउन घोषणा गरेको ३७ दिन भइसकेको छ ।

लकडाउनको मौका छोपेर निकुञ्ज क्षेत्रमा चोरी तस्करी बढ्न थालेपछि निरन्तररूपमा गस्ती भइरहेको मकालु बरुण राष्ट्रिय निकुञ्जका सूचना अधिकारी हिमाल पाठकले जानकारी दिए ।

मकालु बरुण राष्ट्रिय निकुञ्ज दुई हजार ३३० वर्गकिलोमिटरमा फैलिएको छ । यो उच्च हिमाली क्षेत्रमा पर्दछ । निकुञ्जमा जडीबुटी, दुर्लभ वनस्पति र विभिन्न प्रकारका जीवजनावर पाइन्छन् । मानव बस्तीसमेत कम भएका कारण चोरी तस्करीहरु बढेको निकुञ्जले जनाएको छ ।

चोरी तस्करी गर्नेबाट निकुञ्ज क्षेत्रबाट जडीबुटी, दुर्लभ वनस्पति र काठ तस्करी गर्ने क्रम बढेपछि नेपाली सेनाको श्री रणभीम गुल्म र निकुञ्जका कर्मचारीले नियमित गस्ती गरिहेको सूचना अधिकारी पाठकले जानकारी दिनुभयो । लकडाउनको बेला काठ तस्करी गर्ने क्रम बढेको उनले बताए ।

हरियो रुख काटेर काठ तस्करी गर्ने क्रम बढेपछि निगरानी बढाएको निकुञ्जले जनाइएको छ । प्रतिकूल परिस्थिति भए पनि निरन्तर कार्यक्षेत्रमा खटिइरहेको सूचना अधिकारी पाठकको भनाइ छ ।

निकुञ्ज क्षेत्रमा अतिक्रमण गरेर बनाइएको घर टहरा भत्काइएको छ । तस्करी बढेपछि निकुञ्जले त्यस क्षेत्रमा नियमित गस्ती गरिरहेको छ । गस्ती टोलीले मकालु गाउँपालिका–२ ठूलो डाडाँमा अतिक्रमण गरेर बनाइएको घर टहरा भत्काएको सूचना अधिकारी पाठकले जानकारी दिए । रासस

तपाईको प्रतिक्रिया