
चितवन । भरतपुर कोरोना उपचार विशेष अस्थायी अस्पतालमा भएको चोरी प्रकरणमा संलग्न कर्मचारीहरुलाई निलम्बन गरी तत्काल छानबिन गर्न माग गर्दै नेपाल विद्यार्थी संघले चितवनको चौबिसकोठीमा विरोध प्रदर्शन गरेको छ ।
चोरी प्रकरण र अस्पतालमा भएको आर्थिक अनियमितताको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै नेविसंघले बिहीबार चौबिसकोठीमा प्रदर्शन गरेको नेविसंघ चितवनका अध्यक्ष सूर्य ढकालले जानकारी दिए । उनका अनुसार नेविसंघले चाबिसकोठीदेखि भरतपुर महानगरपालिकाको गेटअगाडिसम्म प्रदर्शन गरेको थियो ।
प्रदर्शनका क्रममा समाजवादी पार्टीका सांसद् डा. सुरेन्द्र यादवको अपहरणमा संलग्न भनिएका पूर्वआइजी सर्वेन्द्र खनाल, महेश बस्नेत र किसान श्रेष्ठलाई पनि कारबाही गर्न माग गरिएको थियो ।
प्रदर्शनका क्रममा कोरोना भाइरसको कारण सामाजिक दूरी कायम राख्दै नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशी, तरुण दल चितवनका अध्यक्ष राजन ताम्राकारलगायत दर्जनौ नेता कार्यकर्ता उपस्थित रहेका थिए ।